पर्यटन/संस्कृति

चौबीसे राज्य भित्रीकोटमा पर्यटकीय गन्तव्य बन्दै

प्यूठान । एकताका गुमनाम जस्तै बनेको ऐतिहासिक भित्रीकोट दरबार पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । सरकारी लगानीबाट पर्यटकीय पूर्वाधारको विकास गर्न थालेसँगै पर्यटकको वृद्धि भएको छ । नेपालको इतिहासमा बाइसे र चौबीसे राज्यमा विभाजित नेपालका समयमा चौबीसे राज्यअन्तर्गतको शक्तिशाली मानिने भित्रीकोट राज्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनको अब्बल सम्भावना बोकेको क्षेत्रका रुपमा परिचित छ ।

भित्रीकोटमा चन्द्रवंशी राजाले राज्य गरेको डा गितु गिरीले लेखेको ‘प्यूठान राज्यको इतिहास’ मा उल्लेख छ । तत्कालीन समयमा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले आक्रमण गरेर नेपाल राज्यमा गाभेको थियो । युद्धबाट पराजित भएपछि तत्कालीन राजाका फौज भित्रीकोट छाडी रोल्पाको क्यूरीमा सुरक्षित ठाउँमा गएको इतिहास पाइन्छ । भित्रीकोटमा १४ राजाले राज्य गरेको बताइएको छ । भित्रीकोटका प्रथम राजा लटराज तथा १४ औँ राजा रुद्रप्रताप चन्दराज हुन् । विसं १७६० को ताम्रपत्रानुसार पृथ्वीपति नवौंँ पुस्ताका हुन् । उनीअघि आठ राजाले राज गरेको डा. गिरीले आफ्नो पुस्तकमा उल्लेख गरे । भित्रीकोट पूर्वाधारमा केही सुधार भएपछि पर्यटकको रोजाइमा पर्न थालेको छ ।

तत्कालीन समयमा दरबारको सुरक्षाका लागि चारैतिर लगाइएको पर्खाल र झण्डै डेढ सय मिटर लामो सिँढी र भ¥याङ छ । दरबारको भग्नावशेष, भत्किएका पुराना पर्खाल, दरबारको नजीकै राजाले पानी पिउनका लागि बनाएको पोखरी, चाँदी लेपन गरिएका हातहतियार अहिले अवशेषका रुपमा छ । नेपाली सेनाले तत्कालीन हातहतियारको संरक्षण गर्नका लागि सानो भवन निर्माण गरिदिएको छ । संरक्षित घरटहरा बनेपछि हातहतियार सुरक्षित भएको स्थानीयवासी खगेश्वर थापाले बताए ।

“सुन लेपन गरिएको तरबार, मन्दिरमा भएका घण्ट र बहुमूल्य धातुको गजूर हराएपछि घरमा राखेर सुरक्षित गरिएको थियो”, थापाले भने, “तरबार, भाला, चुपीलगायतका हतियार र मन्दिरको खड्कथानको जीर्णोद्धारपछि पुनःमन्दिरमै लिएर राखिएको छ ।” भित्रीकोटसँगै नगरपालिकाको पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिका नै लागिपरेको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए। भित्रीकोटलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धनका लागि गुरुयोजना तयार गरिने उनको भनाइ छ ।

प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले भित्रीकोटसँगै प्यूठानका अन्य पर्यटकीय क्षेत्रको प्रवद्र्धन प्रयास भइरहेको बताए । “ मदन भण्डारी मार्ग, ढोरपाटन मार्ग, बाग्दुला मैरामारे रोल्पा सडकलगायतका सडक पूर्वाधारको निर्माणले भित्रीकोटलाई पर्यटन प्रवद्र्धनमा सहज हुनेछ । अन्य सम्भावनाको खोजी गरी पर्यटन क्षेत्रको विकास गर्न स्थानीय सरकारसँग पनि समन्वय गर्न छलफल भइरहेको छ ।”