समाचार

के अब गणित बिषय हट्दैछ ?

काठमाडौँ । कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने निर्णयको विरोधमा उत्रिएका गणित विषयका विज्ञहरूले त्यसो गरिए विद्यार्थीको शैक्षिक उन्नतिमा बाधा पुग्ने बताएका छन्।

विरोध
शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ुविद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ु मा कक्षा ११ र १२ बाट गणित विषय हटाउने प्रस्ताव गरेपछि, गणित केन्द्रीय विभाग र नेपाल गणित समाज त्रिभुवन विश्वविद्यालयले विरोध जनाएका छन्।

आधुनिक शिक्षामा गणित विज्ञान जुनसुकै क्षेत्रमा आवश्यक हुने भन्दै उनीहरूले विना अध्ययन गणित हटाइँदा विद्यार्थीको शैक्षिक जीवन प्रभावित हुने तर्क गरेका छन्।

त्रिवि गणित केन्द्रीय विभागका प्रमुख प्रा डा केदारनाथ उप्रेतीले भने , गणित विषय नपढेकाले त्रिभुवन विश्वविद्यालय र अरू पनि निजी विश्वविद्यालयहरूमा कैयौँ क्षेत्रमा अण्डर ग्राजुएट लेभलमा भर्ना नै हुन पाउँदैनन्। चाहे त्यो बी ए, बी एस्सी, बीबीए वा इन्जिनियरिङ विषय हुन्। त्यसले उनीहरूलाई असर पर्छ।

सुरुमा कक्षा ११ र १२ मा सबै संकायका विद्यार्थीले प्रायोगिक गणित पढ्नुपर्ने प्रस्ताव गरिए पनि त्यो हटाइएपछि जीव विज्ञान अर्थात वायोलोजी समूहका विद्यार्थीहरूलाई अप्ठेरो पर्ने उनको भनाइ छ।

सुधार
तर शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लामो अध्ययनपछि विद्यालय शिक्षामा सुधारको थालनी गरेको बताए।

उनले भने, अहिलेसम्मको अध्ययनले ११ र १२ कक्षा उत्तीर्ण भइ विश्वविद्यालय जानेहरूको संख्या साढे ३ लाखको हाराहारीमा रहेको देखाएको छ। त्यसमा साइन्स पढ्नेको संख्या ३० देखि ५० हजार जति छन्। त्यसैले ५० हजार सम्मलाई मात्र चाहिने विषय अरु ३ लाखलाई पनि नथोपरौं भनेर मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो।

उनले गणित विषयलाई ऐच्छिक बनाउने र त्यसको स्थानमा सबै संकायका विद्यार्थीको लागि आवश्यक जीवन उपयोगी शिक्षा विषय थपिएको पनि बताए।

नयाँ पाठ्यक्रम आगामी वर्षबाट लागू हुनेछ। –बिबिसी