गण्डकी प्रदेश

नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित

दमौली । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित भएका छन्। बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित भएका छन् ।

उक्त सम्मेलनमा व्यास नगर प्रमुख न्यौपाने उपस्थित नभए पनि कार्यकारी सदस्यका लागि उम्मेदवारी दिएका थिए । उक्त सम्मेलनले न्यौपानेसहित आठ जनालाई कार्यकारी सदस्यमा निर्वाचित गरेको छ । नयाँ निर्वाचित कार्यसमितिमा जर्मनीको मेनहम नगरका प्रमुख पिटर क्रुज, बेलायतको व्रिष्टोल नगरका प्रमुख मार्भिन रिज, इटालीको पालेर्मो नगरका प्रमुख लियो लुका ओर्लाण्डो, युगाण्डाको होइमा नगरपालिकाका प्रमुख ग्रेस मेरी मुगासा, नर्वेको स्टेभेङ्गजर नगरका प्रमुख क्रिष्टिन सेगन हेल्गो, अमेरिकाको कोलम्बिया नगरका प्रमुख स्टेफेन के बेनजामिन र लाइवेरियाको मोनरोभिया नगरका प्रमुख जेफर्सन टम्बा कोइजी रहेका छन् ।

उक्त सम्मेलनले शहरी बसाइसराइलाई मानवीय ढङ्गले व्यवस्थित गर्ने शहरी सुरक्षा र शहरी स्वास्थ्य क्षेत्रमा सम्बन्धित विश्व सङ्गठन र क्षेत्रीय सङ्गठनसँग समन्वय गरी कार्य गर्ने प्रतिबद्धतासहित घोषणापत्र समेत जारी गरेको छ ।

देवघाटका एक हजार ५२३ लाई भत्ता वितरण

तनहुँको देवघाट गाउँपालिकाले एक हजार ५२३ जनालाई करीब रु तीन करोड भत्ता वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ मा एक हजार पाँच महिला र ५१८ पुरुषलाई रु दुई करोड ९९ लाख ८१ हजार ४०० सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सरकारले ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक (अन्य), एकल महिला, विधवा, पूर्ण अशक्त अपाङ्ग, अति अशक्त अपाङ्ग र बालबालिकालाई मासिक रूपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

गाउँपालिकाले गाउँपालिकाभित्र बसोवास गर्ने ७९ जना ज्येष्ठ नागरिक (दलित) लाई रु १२ लाख ८४ हजार, ८६२ जना ज्येष्ठ नागरिक (अन्य) लाई रु दुई करोड १० लाख ७५ हजार, २५४ जना एकल महिलालाई रु ३५ लाख ९२ हजार, २२३ जना विधवालाई रु २८ लाख ८० हजार, २६ जना पूर्ण अशक्त अपाङ्गलाई रु ६ लाख ६० हजार, ४० जना अतिअशक्त अपाङ्गलाई रु दुई लाख ९५ हजार २०० र ३९ जना बालबालिकालाई रु एक लाख ९५ हजार २०० सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।
गाउँपालिकाले ३२ जना ज्येष्ठ नागरिक (दलित), ८६२ जना ज्येष्ठ नागरिक (अन्य), ५० जना एकल महिला र ३२ जना विधवालाई उपचार खर्चसमेत प्रदान गरेको थापाले बताए ।