अन्तर्राष्ट्रिय

बनाउँदै गरेको बम पड्किदा आमा र दुई छोराछोरीको मृत्यु

मैमाना, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ । उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ । तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको बताइएको छ ।

फर्याब प्रान्तको एक गाउँमा उक्त दुर्घटना हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । सो विस्फोटमा परी तालिबान आतङ्ककारी समूहका ती सदस्यकी श्रीमती र दुई जना छोराछारीकोे मृत्यु भएको समाचारमा जनाइएको छ । तालिबानका ती सदस्यले बम बनाउँदै गरेको अवस्थामा पड्किन पुग्दा आफ्नै परिवारका सदस्य गुमाएको प्रहरीले पुष्टि गरेको छ । फर्याब प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम युरासले बुधबार सो जानकारी दिए । बारुदी बम बनाउने ती लडाकूको नाम मुल्लाह सदरुदिन हुन् ।

उनले आफ्नै घरमा बम बनाइरुहेका थिए । तर बम बनाउदै गरेको अवस्थामा उनकी श्रीमती र दुई छोराछोरीको घटनास्थलमा नै मृत्यु भएको सुरासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए । बम विस्फोटमा परी मारिएका बालबालिका पाँच र आठ वर्षका भएको पनि सो समाचारमा जनाइएको छ ।

तालिबानहरुले फर्याब प्रान्तको केही भाग नियन्त्रण गरेर बसेका र बारम्बार आत्मघाती बमहरु हानी सर्वसाधारण नागरिकको ज्यान लिने गरको बताइन्छ । उनीहरुले सडकको किनारमा बम राखेर सर्वसाधारण नागरिक र सवारीमा यात्रा गर्ने व्यक्तिको ज्यान लिने गर्दछन् । मुल्लाहले यो बम पनि यसरी नै प्रयोग गर्नका लागि बनाएको अनुमान प्रहरीको छ ।