कृषि

कान्लाको केराखेती आम्दानीको मुख्य स्रोत

दाङ । पश्चिम दाङको पुरन्धरा गाउँपालिकाको सिमगौँराका कान्लाभरी केराखेती देख्न पाइन्छ । अहिले त्यहाँका ५० भन्दा बढी किसानले खेर जाने गरेको कान्लामा केराखेती गरेर आफूलाई आर्थिक रुपमा सक्षम बनाउँदै गएका छन् । दैनिकजसो आर्थिक उपार्जनका लागि विदेशिने युवाको सङ्ख्यामा वृद्धि भइरहेका बेला सिमगौँराका किसानल् भने त्यसै खेर गएको कान्लामा केराखेती गरेर उदाहरण देखाएका छन् ।

उनीहरु केराखेती गरेर आफ्नो घर खर्च चलाउन मात्र नभई छोराछोरीलाई विद्यालयमा पठनपाठन गराउन पनि सफल भएका छन् । यस्तैमध्येक एक स्थानीयवासी भीमबहादुर खड्काले १० वर्षदेखि केराखेती गरेका छन् । शुरु शुरुमा त त्यति धेरै आम्दानी लिन नसके पनि विस्तारै खेती गर्दै जाँदा वार्षिक रु ७० देखि ८० हजारसम्मको केरा बिक्री गर्ने गरेको उनी बताउँछन् । “पहिले पहिले त घर खर्च चलाउन र छोराछोरीलाई पढाउन समस्या हुने गरेको थियो अहिले सो खेतीकै आम्दानीबाट घर चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ”, उनले भने ।

आफ्नो बारीमा उत्पादन भएको केरा बेच्नका लागि कुनै समस्या छैन भन्दै खड्काले बोटमा पाकेको केरा स्थानीय हापुरे बजारसम्म लगेर बेच्ने र काँचो केरा लिन त घरमा नै गाडी लिएर व्यापारी आउने गरेको बताए । उनले बारीको कान्लामा केराका करीब २०० बोट रोपेको छ । “शुरुमा केराखेती गर्दा व्यावसायिक रुपमा नगरी छिमेकीले कान्लामा रोपेको देखेपछि देखासिकीले केराखेती शुरु गरेको हुँ तर अहिले त विस्तारै राम्रो आम्दानी सजिलै लिन सकिने भएपछि अरु केराका बोट रोपेको छु”, उनले भने ।

अहिले त्यहाँका ५० भन्दा बढी घरपरिवारले आफ्नो बारीको कान्लामा केराखेती गरेका छन्। केराखेती गरेर जीवन निर्वाह गर्न सफल अर्का किसान अम्मर वलीले केराका २५० भन्दा बढी बोट रोपेका छन् । केराबाट आम्दानी गरी घरखर्च र छोराछोरीलाई आवासीय विद्यालयमा पढाउने ओलीले भने, “केराखेतीबाट सोचेभन्दा राम्रो आम्दानी सजिलै लिन सकिने भएको छु, मेहनत पनि त्यति धेरै नलाग्ने भएका कारण म यो खेतीतर्फ आकर्षित भएको हुँ ”, उनले बताए। उनले अब उन्नत जातको केराखेती गर्ने सोच रहेको बताए।
सोही ठाउँकी देउरुपा खड्काले पनि अहिले केराखेती गरेर वार्षिक रुपमा रु ६० हजार आम्दानी लिन सफल भएका छन् । केराखेतीबाट राम्रो आम्दानी छिटो लिन सकिने हुँदा अब उन्नत जातको केराखेती गर्न बबई गाउँपालिकाले सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

सरकारी तथ्याङ्कानुसार जिल्लाको घोराही उपमहानगरपालिकाका नारायणपुर र हापुर, तुलसीपुर उपमहानगरपालिकाका पवन नगर र हरेवास, शान्ति नगरगाउँपालिकाको पातेटाकुरा र राप्ती गाउँपालिकाको लालमटियामा मुख्य खेतीका रुपमा केराखेती हुने गरेको छ जिल्लामा उत्पादन हुने केरा नपुग्दा भारतीय बजार रुपैडिया र बढनीबाट समेत दाङमा ठूलो परिमाणमा केरा भित्रिने गर्छ ।