बाग्मती

सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प

चितवन । जिल्लाका २६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो । सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न भएको र सकेसम्म तिहारमा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको उनले बताए। भट्टराईका अनुसार एउटा सहकारीले रु २५ हजारदेखि पाँच लाखसम्म शेयर लगानी गरेका छन् ।

सङ्घको आफ्नै जग्गामा पम्प खोलिएको हो । पम्प निर्माण समितिका संयोजक भक्तिराम अधिकारीका अनुसार पम्प निर्माणका लागि करीब रु पाँच करोड लगानी गरिएको छ । पम्पमा अपाङ्गमैत्री शौचालय, चमेनागृह, किराना पसल लगायतको सुविधा रहेको छ । अधिकारीका अनुसार एकै पटकमा आठ वटा सवारी साधनले इन्धन भर्न पाउने छन् । चार डिजल र चार पेट्रोलका सवारीले इन्धन भर्न पाउने उनले बताए ।

एक लाख चार हजार लिटर क्षमताका ट्याङ्की रहेका छन् । जसमध्ये ६० हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल क्षमता रहेको छ । अधिकारीले डिजिटल विलिङबाट भुक्तानी गर्ने सुविधा राखिएको बताए । तेल ढुवानीका लागि दुई ट्याङ्करसमेत खरीद गर्ने तयारी गरिएको छ । सहकारीको पम्प भएकाले निजी व्यवसायीको एशोसिएसनमा सदस्य नबस्ने र निजीको भन्दा सस्तो मूल्यमा इन्धन बिक्री गर्ने संयोजक अधिकारीले बताए ।