स्वास्थ्य

टेलिमेडिसिन सेन्टरबाट उपचार सेवा प्रभावकारी बन्दै

पर्वत । यहाँको एक विकट गाउँमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएपछि गाउँलेले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन् । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा स्थानीय चार भञ्याङ सेवा केन्द्रले सञ्चालन गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले सर्वसुलभ रुपमा उपचार सेवा पाएका हुन् ।

ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विदेशी विषेशज्ञ डाक्टरले स्वास्थ्य सेवा दिन थालेपछि स्थानीय बासिन्दा लाभान्वित बनेका हुन् । अहिले उक्त सेन्टरमा बिरामीको भीड लाग्न थालेको छ ।

हाल स्वास्थ्य केन्द्रबाट क्षारे, मानसिक समस्या, पिसाब, छालारोग र नशाका जटिल समस्या भएका बिरामीले स्वदेशी तथा विदेशी विषेशज्ञ डाक्टरहरुबाट स्वास्थ्य सेवा लिइरहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रका प्रमुख रोशन गुरुङले जानकारी दिए ।

स्वास्थ्य केन्द्रले इन्टरनेटको माध्यमबाट स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र विषेशज्ञको सल्लाहमा औषधि उपचार हुने गरेको हो । प्रविधिको प्रयोग गरी स्थानीयवासी १२० जना विभिन्न रोगका बिरामीमध्ये अधिकांश बिरामी निको भएको र केहीले नियमित औषधि सेवन गरिरहेको गुरुङले जानकारी दिए ।

लामो समयदेखि नशाको समस्याले हिँडडुल गर्नसमेत समस्यामा रहेका फलेवास नगरपालिका–८ का ३८ वर्षीय अर्जुन कुँवरले यही केन्द्रबाट उपचार सेवा लिएर हाल निको भएको बताए ।

उनले भने, “मेरो नशाको समस्याले गर्दा हिँडडुल गर्न नसक्ने अवस्था थियो । यही आएर विशेषज्ञ डाक्टरको सुझावका आधारमा नियमित उपचार गरे, अहिले सहज रुपमा निको भएको छ ।” उनले हाल विदेशी डक्टरको सल्लाहमा घाँटीको नशाको शल्यक्रिया गरेपछि आफ्नो समस्या समाधान भएको बताए ।

उनी जस्तै दर्जनौं बिरामी यहाँ आएर निको भएको स्वास्थ्य केन्द्रले जनाएको छ । उक्त केन्द्रमा उपचार गर्न आउने बिरामीमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई केन्द्रले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा समन्वय गरी उपचारका लागि पठाउने गरेको छ भने अन्य सामान्य बिरामीलाई यहीबाट सेवा दिने गरेको छ ।

विसं २०६६ मा बेलायतमा रहेका नेपालीको सङ्गठन चार भञ्ज्याङ तमु समाज यूकेको पहलमा स्थापना भएको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने गरेको प्राथामिक स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवामा प्राथमिक सेवामा दैनिक २५ जनासम्म बिरामीले सेवा लिन आउने गरेका छन् भने टेलिमेडिसिन सेवाअन्तर्गत हालसम्म १०७ जनाले सेवा पाएका छन् ।

टेलिमेडिसिन सेवा प्रभावकारी भएपछि हाल फलेवास नगरपालिका कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, विहादी गाँउपालिका र छिमेकी जिल्ला बागलुङ, र गुल्मीदेखि पनि सेवा लिन बिरामी यहाँसम्म आउने गरेका छन् ।

यस केन्द्रमा टेलिमेडिसी सेवाका अतिरिक्त हरेक वर्ष विदेशी विषेशज्ञ डाक्टरको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजन गर्ने गरिएको छ, भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वास्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आएको प्रमुख गुरुङले जानकारी दिए ।

उक्त संस्थाको स्वस्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि एम्बुलेन्स सेवा समेत सञ्चालनको तयारीमा रहेको केन्द्रले जनाएको छ । देशका विकट स्थानमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन यस किसिमको सेवालाई देशका अन्य स्थानमा पनि विस्तार गर्दै लैजानुपर्ने सरोकारवालाहरुले बताएका छन् ।