प्रदेश 1

तेब्बर भाडा असुल्दै सवारी,यात्रुलाई सास्ती

तेह्रथुम । चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएका छन् ।

धरानबाट तेह्रथुमको म्याङलुङसम्म चल्ने साना जिप, बोलेरो, ट्याक्सीलगायत सवारीले निर्धारितभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् । व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिएका यात्रुले बताएका छन् । धरान–तेह्रथुम खण्डमा यसअघि प्रतिव्यक्ति रु ५०० भाडा लिने गाडीले अहिले रु एक हजारसम्म भाडा लिएर सवारी चलाइरहेका छन् ।

दशैँ बित्न लाग्दा चल्न थालेका बसले समेत म्याङलुङ–संक्रान्तिबजार (करीब ६५ किमी) सडक खण्डमा प्रतिव्यक्ति रु ६०० भाडा असुलिरहेको छ । आठराइ–फिदिम–इलाम–झापा सडक खण्डमा गुड्ने गाडीले समेत जथाभावी भाडा असुलेका छन् । यस्तै धरान–धनकुटा खण्डमा समेत निर्धारितदरभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् । दुर्गम गाउँसम्म सडकको पुहँच त पुगेको छ । तर, चाडपर्वका बेला मौका छोपेर व्यवसायीले यात्रुसँग ठगीधन्दा चलाइरहेका छन् । रिजर्भका नाममा तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारी साधनको कमी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् ।

दशैँमा बजार क्षेत्रमा व्यवसाय, काम र पढाइले बसेका घर फर्किएपछि बजार सुनसान बनेका थिए । दशैँमा सुनसान बनेका तेह्रथुमका म्याङलुङसहित जिरीखिम्ती, बसन्तपुर, सक्रान्तिबजारलगायत बजारमा मानिस र सवारीको चाप बढेको छ ।

विपद् पूर्वतयारी योजना निर्माण

तेह्रथुममा यस वर्षका लागि जिल्लास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी लागू गरिएको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्ला समन्वय समिति, जिल्ला प्रहरीलगायत सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न सङ्घ संस्थाको सक्रियतामा विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि योजना निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका सभापति श्रीकृष्ण दाहालले बताए ।

योजनामा विगतमा भएका विपद्का घटना र तिनको सुक्ष्म विश्लेषण गरी आगामी दिनमा समेत हुनसक्ने विपद्का घटना र पूर्वतयारीका लागि योजना समावेश गरिएको छ । विपद् पूर्वतयारी योजनामा आगलागीको जोखिम भएका क्षेत्रका रुपमा बाक्लो बस्ती भएका बजार र गाउँ, सुख्खा क्षेत्र तथा फुसको छानो भएका घर र चेतनाको कमी रहेको क्षेत्रलाई पहिचान गरिएको छ ।

यस्तै म्याङलुङ नगरपालिका–७ र ८ लाई पहिरोको जोखिमको क्षेत्रका रुपमा पहिचान गरिएको छ । छथर गाउँपालिकाको आङिदम, लालीगुराँस नगरपालिकाको वडा नं १, २, ४ र ७, फेदाप गाउँपालिकाको वडा नं ५ र २ तथा आठराई गाउँपालिकाको वडा नं २ लाई समेत पहिरोको जोखिम भएको क्षेत्रका रुपमा पहिचान गरिएको छ ।

हाल तेह्रथुमका विभिन्न ११ वटा गाउँमा मात्रै विपद् पूर्वतयारी योजना निर्माण गरी पूर्वतयारीका गतिविधि भइरहेका छन् । नेपाल रेडक्रस सोसाइटीले आम्बुङ, मोराहाङ, इसिवु, सुङनाम, आङिदम, फुलेक, वसन्तपुर, श्रीजुङ, सम्दु, खाम्लालुङ र पञ्चकन्यामा मात्रै विपद् पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा रहेको जनाएको छ ।