शिक्षा

शिक्षक तथा विद्यार्थीका हातहातमा कुचो र थैला देखिए

कञ्चनपुर । कक्षा शुरु हुनुअगावै शिक्षक तथा विद्यार्थीका हातहातमा कुचो र थैला देखिन्छन् । विद्यालय परिसरमै केही खोज्दै गरेको दृश्य सधैँ निरन्तर दोहोरिरहन्छ । शिक्षक विद्यार्थी मिलेर विद्यालय परिसरमा झरेका रुखका पात, कसिङ्गर बटुल्दै निश्चित स्थानमा फाल्न सधैँ नियमित यस्तो कार्यमा सहभागी हुने गरेका हुन् ।

विद्यालयलाई सफासुग्घर राख्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा रहेको जनज्योति आधारभूत विद्यालयका शिक्षक विद्यार्थीको हातेमालोले उक्त विद्यालयलाई जिल्लाका साथै आसापासका जिल्लामा समेत परिचित गराएको छ । विद्यालय परिसर सरसफाइको नमूना मात्र नभएर लोभलाग्दो फूलबारी र कक्षा व्यवस्थापनको कार्यसमेत चुस्तदुरुस्त र हेर्न लायक छ ।

कक्षा व्यवस्थापन, बाह्य तथा आन्तरिक सरसफाइ र फूलबारी हेर्नका लागि उक्त विद्यालय छिमेकी जिल्लाका विद्यालको शैक्षिक भ्रमणको गतव्य बनेको छ । पहिला उक्त विद्यालयमा पढाइको गुणस्तर खस्किँदो अवस्थाले अभिभावकले बालबालिकालाई विद्यालयबाट छुटाएर अन्यत्र भर्ना गर्दै आएका थिए ।

अभिभावक र शिक्षकबीचको छलफलले विद्यालयलाई नमूना बनाउनाका साथै विद्यार्थी सङ्ख्या बढाउने योजना बनाई कार्यान्वयनमा ल्याएपछि उक्त विद्यालयमा विद्यार्थी बढेको छ भने जिल्ला र बाह्य क्षेत्रमै नमूना विद्यालयका रूपमा पनि चिनिएको छ ।

नीजी विद्यालयमा पढाउँदै आएका अभिभावकले समेत बालबालिकालाई छुटाएर यस विद्यालयमा भर्ना गराएका छन् । नयाँ विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि विद्यालयले परीक्षा लिएर मात्रै चालु शैक्षिकसत्रदेखि नयाँ विद्यार्थी भर्ना लिने योजना बनाएको छ ।

तीन वर्षदेखि विद्यालयको सरसफाइ, बगैँचा र शौचालयको पर्याप्ततामा ध्यान दिनाका साथै कक्षा व्यवस्थापन र गुणस्तरीय पढाइका लागि योजना बनाई कार्यान्वयनमा ल्याइएपछि विद्यालयले बेग्लै पहिचान बनाउन सफल भएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दानसिंह चौधरीले बताए।

नमूनाको विद्यालयको चर्चा हुन थालेपछि बाह्य जिल्लाका २७ टोलीले शैक्षिक भ्रमण स्वरुप का विद्यालय अवलोकन गरेका छन् । हाल दैनिक शिक्षक विद्यार्थीको एक टोली विद्यालय अवलोकनका लागि पुग्ने प्रधानाध्यापक सरिता चौधरीले बताए । ‘‘गैरसरकारी संस्था र अन्य गाउँ घुम्नका लागि आउनेले अनिवार्य रूपमा विद्यालयको अवलोकन गर्न छुटाएका छैनन,” उनले भने ।
विद्यालयले गरेको यस कार्यले अवलोकनकर्ताहरू आफ्नो विद्यालयलाई समेत यसैगरी चिटिक्क पार्ने उत्साह लिएर फर्कने गरेका छन् उनले भने, “सबै विद्यालयले हाम्रैजस्तो गरे पढाइ र बाह्य वातावरणलाई उत्कृष्ट बनाउन सक्छन्, त्यसका लागि मनमा उत्साह र काम गर्ने जाँगर हुनुपर्छ ।”

दाङको लमही नगरपालिकाले यस्तो व्यवस्थापन प्रभावित भई उक्त विद्यालयलाई रु दुई लाख नगद पुरुस्कार प्रदान गरेको छ । यसअघि बीचमै विद्यालय छाडने विद्यार्थीको सङ्ख्या १५ प्रतिशत भन्दाबढी रहेकामा वातावरणमा सुधार भएपछि विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या हाल शून्य हुनुका साथै सबै विद्यार्थी नियमित र अनुशासित भएर विद्यालय आउने गरेका छन् । सरसफाइ र कक्षा व्यवस्थापनमा विद्यालय जिल्लाकै उत्कृष्ट बनेको छ ।

शिक्षकदेखि विद्यार्थीले विद्यालय परिसरदेखि कक्षा कोठामा पालो मिलाएर सरसफाइ गर्ने गरेका छन् । फूलबारी गोडमेल गर्ने, चौरको फोहर सफा गर्ने र शौचालय पालो मिलाएर शिक्षक विद्यार्थीले सफा गर्ने गर्दछन् । जसबाट विद्यार्थी र शिक्षक बीचको सम्बन्ध गुरुचेलाको मात्रै नभएर अभिभावकै जस्तो हुने गरेको शिक्षक उत्तम ओडले बताए । “कक्षामा विद्यार्थीले सहज रूपमा शिक्षकलाई नजानेका कुरा सोध्ने र उत्तर दिने परिपाटीले पढाइमा समेत अरु विद्यालयभन्दा हामी पछाडि छैनौँ” उनले भने । यति मात्रै नभएर विद्यालयमा सरसफाइको काम सिकेका विद्यार्थीले घरमा अभिभावकलाई समेत सरसफाइबारे उत्प्रेरित गर्न थालेका छन् । गाउँको चोक, सडक, घरभित्र र वरिपरिको क्षेत्रमा अभिभावकले समेत सरसफाइ गर्न थालेका छन् ।

विद्यालयमा इकोक्लब, बालक्लब, स्वास्थ्य समिति र जुनियर रेडक्रस सर्कलसमेत गठन गरिएका छन् । क्लब र समितिमा आवद्ध शिक्षक विद्यार्थीले कार्ययोजना बनाई विद्यालयको विकासका लागि कार्य गर्र्र्दै आएका छन् ।

विद्यार्थीको गतिविधि मासिक रूपमा परीक्षण गरी रोल नं फेर्ने, मासिक हाजिरी विवरण सुनाउने, औषत उपलब्धिका लागि शिक्षकको बैठकमा समीक्षा गर्ने र कार्यतालिका तथा कार्ययोजना बनाई अध्यापन गराउने व्यवस्था विद्यालयले गरेको छ । कक्षामा उत्कृष्ट विद्यार्थीको नजीक कमजोर विद्यार्थीलाई राख्ने व्यवस्थासमेत विद्यालयले गरेको छ ।

कक्षा कोठामा विद्यार्थीलाई लैङ्गिक, प्राज्ञिक, जातजाति, अपाङ्गमैत्रीका आधारमा साथी बदल्ने गरी बेन्चमा बस्नका लागि वातावरण सिर्जना गरेका छौँ, विद्यालयका शिक्षक बिक्रम चौधरीले भने “यसबाट विद्यार्थीको पढ्ने क्षमता विकास हुने भएकाले सामाजिक संरचनाअनुसार मिलेर बस्नुपर्छ भन्ने भावना विद्यालयबाटै सिकाउँदैछौँ ।” प्रत्येक कक्षामा अभिलेख पुस्तिका राख्ने र पुस्तिकामा अभिलेख राख्न कक्षा मनिटरलाई जिम्मेवारी दिइएको छ ।

वार्षिक नतिजाका बेला निरन्तर हाजिरी हुने र कक्षामा पढाइमा अब्बल विद्यार्थी, शिक्षक र अभिभावकलाई विद्यालयले पुस्कार दिँदै आएको छ । कमजोर विद्यार्थीका लागि थप कक्षा सञ्चालन गरी उत्कृष्ट नतिजा ल्याउनका लागि प्रयास हुँदै आएको प्रधानाध्यापक चौधरीले बताए । बैठकमा बालसहभागितासमेत सुनिश्चित गरिएको उक्त विद्यालयमा शिक्षकको हाजिरी विरण सेतोपाटीसहित तीन वटा रजिस्टरमा राख्ने गरिएको छ ।

बिदा लिदा शिक्षक आफैँले रजिस्टरमा कारण खुलाउनुपर्छ । जातजातिगत औषत उपलब्धि र हाजिरीसमेत विद्यार्थीको नतिजा प्रकाशनसँगै अभिभावकलाई जानकारी दिइने गरिएको छ । विद्यालयको शैक्षिक अवस्थमा सुधार ल्याउनका लागि शैक्षिक गुणस्तर समितिसमेत गठन गरेकोे छ ।
दिनभरि गरिएको क्रियाकलाप विद्यालयले प्रत्येक कक्षा कोठामा राख्ने र सुझाव पेटिकामा आएका सुझावलाई समेत अभिलेखीकरण गरी कार्यान्वयनमा ल्याउने गरिएको जानकारी गराउँदै शिक्षक कमल हुम्लीले भने, “वर्षको दुई पटक अभिभावकका घरमै गएर अन्तरक्रिया गरी सुझाव लिने गरेका छौँ । जसबाट अभिभावक, विद्यार्थी र शिक्षकबीचको सम्बन्ध सुमधुर भई शिक्षाको गुणस्तरमा टेवा पुगेको छ ।”

विद्यार्थीलाई अतिरिक्त ज्ञान दिनका लागि विद्यालयलमा बालपुस्तकालय, कम्प्युटरकक्षा र सूचना कक्ष राखिएकाले विद्यार्थीलाई पठनपाठनमा थप सहयोग मिलेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मनिराम डगौराले बताए । विद्यार्थीलाई देशविदेशमा भएका घटनाबारे जानकारी दिन र सिक्ने कलाको विकासका लागि प्रोजेक्टर, मोबाइल, कम्प्युटर र चित्र पुस्तकका माध्यमले समेत पठनपाठन गरिँदै आएको र क्षेत्रगत भ्रमण गराएर विद्यार्थीलाई बाह्य क्षेत्रमा भएका उपलब्धिबारे जानकारी दिने गरिएको उनको भनाइ थियो ।

सरकारी लगानी अनुरुप निजी विद्यालयको तुलनामा विद्यालयका विद्यार्थी कुनै कुरामा कम छैनन्, पूर्व अध्यक्ष डगौराले भने, “गर्न चाहे जेपनि सकिन्छ, अभिभावकको सहयोगले विद्यालयले उत्कृष्ट स्थान हासिल गरेको छ ।” यसका अतिरिक्त विद्यालयमा विद्यार्थीलाई यौन शिक्षाबारेसमेत जानकारी दिइने गरिएको छ । छात्राहरू रजश्वला भए विद्यालय नआउने परिपाटी यौन शिक्षाले अन्त्य गरिदिएको छ विद्यालयमै छात्रा रजश्वला भए विद्यालयबाटै सफा प्याड उपलब्ध गराउने व्यवस्था गरिएको छ । छात्रामैत्री शौचालयको व्यवस्थाले प्याड फेर्न सहज भएको विद्यालयका छात्रा अनिता चौधरीको भनाइ थियो ।

विद्यालयमा अनुशासनमा कडाइ गरिएको छ । ढिलो आउने शिक्षकलाई विद्यार्थीले र विद्यार्थीलाई शिक्षकले निगरानी गरी घर पठाउने गरिएकाले सबै जना ठिक समयमा विद्यालयमा पुग्ने गरेका छन् । जिल्ला शिक्षा अधिकारी दुर्गा विष्टले विद्यालयको शैक्षिक वातावरण सुधारमा गरिएको प्रयास सह्राहनीय रहेको बताए ।

अभिभावक शिक्षक र विद्यार्थीले हातेमालो गरी विद्यालय सुधारका लागि कार्य गरे जनज्योतिजस्तै अन्य विद्यालयलाई गराउन सकिन्छ उनले भने, “यस विद्यालयले बाह्यदेखि आन्तरिक शैक्षिक वातावरण सुधारमा गरेको कार्य अन्य विद्यालयका लागि प्रेरणाको रूपमा रहेको छ ।” अनुशासन र विद्यालयको चुस्त व्यवस्थापनले नतिजा सय प्रतिशत रहने गरेको छ । विसं २०५१ मा स्थापना भएको विद्यालयमा झण्डै २०० विद्यार्थी अध्ययनरत छन् । एक अस्थायी, अन्य राहत र निजी गरी आठ शिक्षक उक्त विद्यालयमा कार्यरत छन् ।