कृषि

सुनसान बन्दै कृषि ज्ञान केन्द्र

बनेपा । बनेपास्थित कृषि ज्ञान केन्द्र विगत दुई महिनादेखि सुनसान देखिएको छ । प्रदेश सरकार मातहतमा रहने निर्णय भएपछि कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रको रूपमा स्थापना गरिएको हो । सोहि नाममा बोर्ड झुण्डियाएको दुई महिना भएपनि कार्यालय भने सुनसान देखिएको हो । कृषि विकास कार्यालयको नाम नै परिवर्तन भएपछि भएको कर्मचारीसमेत स्थानीय तह (नगर/गाउँपालिका) मा गएर काम गरिरहेका छन् ।

कार्यालय प्रमुख सहित १७ जनाको दरबन्दी रहेको सो कार्यालयमा अहिले एक जना लेखापालले मात्रै कार्यालय खोल्ने गरेका छन् । “बोर्ड राखिएको छ, कार्यालय प्रमुख हुनुहुन्न, अरु कर्मचारी पनि कोही छैनन्”, लेखापाल अखिल खड्काले भने, “जिम्मेवारीको टुंगो नै नलागेकाकारण हामीले पारिश्रमिकसमेत पाएका छैनौँ ।” उनले भने “न काम छ, न त पारिश्रमिक नै ।”

कृषि ज्ञान केन्द्रमा प्रमुख एक, अधिकृत सात, लेखापाल एक, प्रशासन खरिदार एक, प्राविधिक सहायक तीन, कार्यालय सहायक तीन र चालक एक गरी १७ जनाको दरबन्दी भए पनि हालसम्म कर्मचारीको व्यवस्थापन हुन सकेको छैन् । कार्यालय नै सुनसान भएपछि अहिले कृषि ज्ञान केन्द्रको कार्यालयमा धुलिखेल नगरपालिकाको कृषि शाखा कार्यालय राखिएको छ । नगर कृषि शाखाका प्राविधिक सहायक केशवप्रसाद कोइरालाले भने, “दुई कोठामा कृषि शाखाको कार्यालय सञ्चालन भइरहेको छ ।”

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रदेश सरकार र केन्द्र सरकारको अधिकार क्षेत्र र जिम्मेवारीको बारेमा टुङ्गो नलाग्दा कार्यालय विधिवत सञ्चालनमा नआएको बताए ।