आर्थिक

मध्यभोटेकोशीको आइपिओ बिक्री गर्दै

काठमाडौँ । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाले रु एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता सीमित साधारण शेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते सीमित साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको हो । उक्त शेयरमा आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३७ प्रतिशत शेयर रहेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत लगानी रहेको छ । यस्तै सिन्धु भोटेकोशी हाइड्रोपावर कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु इन्भेस्टमेन्टको समान एक/एक प्रतिशत शेयर रहेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, स्थानीयवासी र आम सर्वधारणको गरी कूल ४९ प्रतिशत शेयर रहनेछ । यस्तै लगानीकर्ता संस्थाको कूल ५१ प्रतिशत शेयर रहनेछ । आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेको छ । आयोजनाको हाल कूल भौतिक प्रगति ४५ प्रतिशतको हाराहारीमा रहेको छ ।