विचित्र संसार

शान्ति भंग गरेको आरोपमा कुखुरा जेल चलान

काठमाडौँ । घरमा पालेको कुखुरालाई खोरमा थुन्नु त स्वभाविकै हो । तर के तपाइँले कुनै कुखुरालाई कानून बमोजिम सजायँ दिएर जेलमा हालिएको खबर सुन्नुभएको छ ?

मध्य अमेरिकी देश होण्डुरसमा एउटा यस्तै रोचक घटना सार्वजनिक भएको छ । जसमा कुखुरालाई जेल हालिएको छ । आखिर कुखुरालाई जेल सजायँ किन भयो त ? कारण थाहा पाउनुभयो भने तपाइँ अचम्ममा पर्नुहुनेछ ।

वास्तवमा उक्त कुखुरा आफ्नो छिमेकीको खेतमा बारम्बार पस्ने र खेतमा रहेका बाली विरुवा खाइदिएर नोक्सान गरिदिएको थियो । साथै खेतमा रहेका रुखमा चढेर जोड जोडसँग बासेर मानिसहरुलाई हैरान पारेको थियो ।

कुखुराको यस्तो बदमासीका कारण खेतधनीले कुखुरा मालिकलाई आफ्नो कुखुरा सम्हाल्न सुझाए । त्यसपछि कुखुरा धनी र खेतधनीबीचमा बाझाबाझ भयो । झगडा बढेसँगै गाउँलेहरुले पुलिसलाई बोलाए ।

पुलिस घटनास्थलमा पुगेर बाझाबाझ गर्ने छिमेकीहरुलाई कारवाही गर्नुको साटो कुखुरालाई पक्रियो र लगेर जेलमा कोचिदियो । दुई छिमेकीबीच झगडा साम्य भएपछि मात्र पुलिसले कुखुरालाई रिहा गर्यो । -एजेन्सी