अन्तर्राष्ट्रिय

म्यान्मारका उच्च सैनिकमाथि प्रतिबन्ध

सिड्नी । अस्ट्रेलियाली सरकारले रोहिङ्ग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका पाँचजना उच्च सैनिक अधिकृतका बिरुद्ध मङ्गलबार प्रतिबन्धहरु घोषणा गरेको छ ।

संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले झैं अस्ट्रेलियाले पाँचै अधिकृतको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो । अस्ट्रेलियाका विदेशमन्त्री मराइज पेनले रोहिङ्ग्या मुद्दामा मुख्य रुपमा दोषी ठहर गरिएका अधिकृतहरुमा आङ क्या जा, माउङ माउङ सो, आङ आङ, थान ऊ र खिन माउङ सो रहेको जानकारी दिए ।

ती पाँचैजना अधिकृतलाई अस्ट्रेलिया भ्रमण गर्न पनि निषेध गरिएको छ । यीमध्ये केही अधिकृतले सैनिक सेवाबाट अवकाश पाइसकेको बताइन्छ । म्यान्मारको दक्षिणपश्चिम रखाइन राज्यबाट सन् २०१६ मा म्यान्मारको सेनाले करिब सात लाख रोहिङ्ग्यालाई देश छाड्न बाध्य बनाएको थियो । यसक्रममा सेनाले धेरैलाई गैरन्यायिक हत्या गर्नुका साथै बलात्कार र गाउँमा आगजनी गरेको थियो ।