समाचार

प्रतीक्षामा बसेका सेवाग्राहीले दुई महीनामा स्मार्ट कार्ड पाउने

काठमाडौँ । यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ ।

मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो । पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिए।

लिमिटेडले ४५ दिनमा पाँचदेखि छ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी सम्झौता भएको हो । कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ । कार्ड, विद्युत्लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने उहाँले जानकारी दिए । विभागको मीनभवनस्थित कार्यालयमै कार्ड छापिने छ ।

दुई महीनामा प्रतीक्षा सूचीमा बसेका सबै लाभग्राहीले कार्ड पाइसक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । प्रतीक्षा सूचीमा बसेकाको समस्या समाधान भएपछि विभागले अत्याधुनिक यन्त्रमार्फत दैनिक आठ हजार कार्ड छाप्ने तयारी गरेको जनाएको छ । त्यसका लागि बोलपत्र आब्हान भइसकेको छ ।