गण्डकी प्रदेश

आमा समूहको सक्रियतामा भवन निर्माण

दमौली । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा रु १० लाखको लागतमा भवन निर्माण गरिएको छ ।

नाचगान, वैदेशिक रोजगारीबाट गाउँ फर्किएका स्थानीय, वडा कार्यालयलगायत सङ्घसंस्थाको आर्थिक सहयोगमा महिलाले सामुदायिक भवन निर्माण गरेका हुन् । भवन निर्माणका लागि आमा समूहले नाचगान गरी सङ्कलन गरेको रु।तीन लाख, वडा कार्यालयको रु तीन लाख २५ हजार, वैदेशिक रोजगारीमा रहेका गाउँलेको रु एक लाख र सामुदायिक वनको रु तीन लाख खर्च भएको आमा समूहका अध्यक्ष विष्णुमाया थापाले जानकारी दिए ।

उनका अनुसार भवन निर्माण सम्पन्न गर्नका लागि अझै रु सात लाख आवश्यक पर्ने देखिएको छ । गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित बैठकका लागिसमेत एउटा हल आवश्यक भएपछि आमा समूहको सक्रियतामा भवन निर्माण गरिएको हो ।
तीस महिला आबद्ध रहेको समूहले महिला सशक्तीकरण, सीपमूलक तालीम, घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पाँच हजार मिटर सडक ग्राभेल

तनहुँको म्याग्दे गाउँपालिकामा एक वर्षमा पाँच हजार ७२ मिटर सडक ग्राभेल भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ मा पाँच वटा वडामा सडक ग्राभेल गरेको हो । जसअनुसार वडा नम्बर २ मा ४२०, वडा नम्बर ३ मा दुई हजार ५८०, वडा नम्बर ४ मा १८०, वडा नम्बर ५ मा २३५ र वडा नम्बर ७ मा एक हजार ६५७ मिटर सडक ग्राभेल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए ।

सोही अवधिमा ३७ हजार ३२९ मिटर बाटो विस्तार भएको र १६ हजार ९९९ मिटर बाटो मर्मत भएको समेत उहाँले बताउनुभयो । त्यस्तै २७५ मिटर सिँढी निर्माण, ७०९ मिटर पक्की नाली र १९ हजार ७७० मिटर कच्ची नाली निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी गाउँपालिकाले सोही अवधिमा १८७ मिटर पक्की कुलो निर्माण गरेको छ । वडा नम्बर १ मा छ मिटर, वडा नम्बर २ मा २४ मिटर, वडा नम्बर ५ मा ६१ मिटर र वडा नम्बर ७ मा ९६ मिटर पक्की कुलो निर्माण भएको छ । साथै वडा नम्बर ३ मा ४९ मिटर, वडा नम्बर ६ मा ८४ मिटर र वडा नम्बर ७ मा १०० मिटर पाइप वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।