अन्तर्राष्ट्रिय

साउदीलाई हतियार बिक्री गर्दैनौः चान्सलर मर्केल

बर्लिन । जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खशोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी अरेबियालाई तत्कालका लागि सैनिक सामग्री बिक्री नगर्ने बताएका छन् ।

“सीमित मात्रामा भइरहेको सैनिक सामग्री बिक्रीका सम्बन्धमा समेत जर्मनीको आलोचना भइरहेकै थियो, अहिलेको विषम अवस्थामा साउदी अरेबियालाई हतियार बिक्री हुँदैन,” चान्सलर मर्केलले पार्टी मुख्यालयमा पत्रकारहरुलाई बताए ।

जर्मन विदेशमन्त्री हेइको मासले शनिबार नै साउदी अरेबियालाई सैनिक सामग्री बिक्री नगरिने स्पष्ट गरेका थिए । जर्मनीले सन् २०१८ का लागि साउदी अरेबियालाई करिब ४८ करोड अमेरिकी डलर बराबरको सैनिक सामग्री बिक्री गर्न गत महिना मात्र स्वीकृति दिएको थियो । विगतमा बर्लिनले साउदीलाई सैनिक सामग्रीका रुपमा मुख्यतः प्याट्रोल बोट (गस्ती डुङ्गा) निकासी गरिआएको थियो ।

मर्केलले खशोग्गीको हत्याको कडा शब्दमा निन्दा गर्नुका साथै उक्त घटनाको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने बताए । “हामीले यस घटनाका सबै कुरा थाहा पाएका छैनौं र अपराधीलाई कारबाही गरिएकै छैन,” उनले भने ।

मर्केलले यस घटनाका सम्बन्धमा सामूहिक प्रतिक्रियाका बारेमा अन्तर्राष्ट्रिय साझेदारसँग परामर्श गरिरहेको पनि बताए ।

जर्मनीले लेबनान मामिलामा साउदी अरेबियाले हस्तक्षेप गरेको आरोप लगाएपछि जर्मनी र साउदी अरेबियाबीचको सम्बन्धमा चिसोपन आएको थियो । दुबै मुलुकले आआफ्ना राजदूतहरु फिर्ता बोलाए पनि १० महिनापछि गत सेप्टेम्बरमा मात्र पुनस्र्थापित गरिएका थिए ।

खशोग्गीको हत्यापश्चात युरोपेली साझेदारहरु बेलायत, फ्रान्स र जर्मनीसँग साउदी अरेबियाको नयाँ तर गम्भीर दरार उत्पन्न भएको छ । उनीहरुले इस्तानबुल महाबाणिज्यदूतावासभित्र खशोग्गीको कसरी मृत्यु भएको हो भन्ने प्रस्ट पार्न दबाब दिइरहेका छन् ।

झण्डै १५ दिनसम्म हत्याको आरोपको खण्डन गरिरहेको साउदीले गत शनिबार मात्र खशोग्गीको अक्टोबर २ मा हत्या भएको स्वीकार गरेको थियो । तर इस्तानबुल महाबाणिज्यदूतावासमा झगडा हुँदा खशोग्गीको मृत्यु भएको साउदी अरेबियाले अविश्वसनीय भनाइ सार्वजनिक गरेको छ । विश्व समुदायले उक्त भनाइलाई अस्वीकार गर्दै खशोग्गीको शव सार्वजनिक गर्न आग्रह गरिआएका छन् ।