गण्डकी प्रदेश

घाँस दाउरा बेचेको आम्दानी विद्युतीकरणमा

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको धारापानी सामुदायिक वन उपभोक्ता समूहले घाँस दाउरा बेचेर भएको आम्दानी विद्युतीकरणमा परिचालन गरेको छ । वन समूहले गाउँपालिकामै पहिलोपटक धारापानीमा भएको विद्युतीकरण योजनाका लागि करीब रु साढे तीन लाख लगानी गरेको हो । हालसम्म २०१ घरधुरी उपभोक्तालाई विद्युत्को मिटर जडान गर्न रु एक हजार ७०० का दरले अनुदान दिइएको उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।

“विद्युत् सुविधा भएपछि वन तथा वातावरण संरक्षणमा सहयोग पुग्ने भएकाले घाँस र दाउरा बेचेर जम्मा गरेको रकम सहयोग गरेका हौँ” अध्यक्ष थापाले भने । सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको धारापानीमा भदौ महीनादेखि बिजुली बल्न थालेको हो ।

विसं २०६७ देखि शुरु भएको विद्युतीकरण योजनाबाट २०१ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले बताए । सचिव थापाका अनुसार गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समूह, स्थानीयवासी, तत्कालीन जिविस र गाविसको रु ५६ लाख ८३ हजार ७६० को लागतमा योजना निर्माण भएको हो ।

धेरै वर्षसम्म उज्यालोका लागि सिट्ठा र दियालो बालेर रात कटाएका धारापानीका रामबहादुर खत्रीले गाउँमा बिजुलीसँगै विकासको अवसर भित्रिएको बताए । उज्यालोका अतिरिक्त फर्निचर, अल्लो प्रशोधन, राईसमील, मासु पसल सञ्चालन हुन थालेको छ ।