सुदूरपश्चिम

सामुदायिक वनको कमाइ सामाजिक कार्यमा

कञ्चनपुर् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ ।

सामुदायिक वनले काठ, दाउरा, ढुङ्गा, ग्राभेल, बाँस बिक्री गरेर आउने रकम खर्चेर सामाजिक क्षेत्रमा लगानी गर्न थालेको हो । सामुदायिक वनले आम्दानीको रकम सडकमा ग्राभेल राख्न, मन्दिर निर्माण गर्न, विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि खर्च गरेको छ ।

सडकमा ग्राभेल राख्नका लागि रु दुई लाख ५० हजार, भल्का मन्दिरमा पक्की घर निर्माणका लागि रु एक लाख ५० हजार, अन्य मन्दिर मर्मत गर्न रु ४० हजार, धर्म जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि रु दुई लाख ५० हजार रकम खर्चिएको सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले बताए । “विद्यालयमा कम्प्युटर खरीद गर्न, विद्यार्थी पोशाक, झोला र फर्निचरका लागिसमेत आवश्यक रकम उपलब्ध गराएका छौँ” उनले भने ।

सामुदायिक वनको कमाइबाटै स्थानीय उपभोक्तालाई जङ्गली जनावरले बालीनालीमा गर्ने क्षति कम गर्नका लागि दुई दशमलव पाँच किलोमिटर क्षेत्रफलमा रु २४ लाख खर्च गरेर आधुनिक जालीयुक्त तारबार गरिएको उनले बताए ।
जङ्गली जनावरबाट घरपालुवा जनावरमा रोग सर्ने र खेतबारीमा जङ्गली जनावर छिरेर व्यापक नोक्सानी गर्ने गरेका थिए सामुदायिक वनका कोषाध्यक्ष प्रेमबहादुर धानुकले भने, “तारबारपछि त्यो सबै रोकिएको छ ।”

सामुदायिक वनले बास बिक्री गरेर रु चार लाख, सामुदायिक वनको बाँझो जग्गामा लगाइको फलफूल ठेक्कामा दिएर रु एक लाख ६५ हजार रकम आम्दानी गर्दै आएको छ । यसका अतिरिक्त वनले काठ, दाउरा, ढुङ्गालगायतबाट रु ४२ लाख बढी आम्दानी गर्दै आएको छ । आव ०७४/७५ मा सामुदायिक वनले रु ४८ लाख आम्दानी गरेको थियो भने आव ०७३÷७४ मा सामुदायिक वनले रु ४५ लाख आम्दानी गरेको थियो ।

सामुदायिक वनको आम्दानी बढाउनका लागि यस वर्षदेखि एक बिगाहा पाँच कट्टा जग्गामा अदुवा र बेसार खेती गरिएको छ । शौचालय जडित गोबर ग्यास प्लान्ट निर्माणका लागि सामुदायिक वनले उपभोक्तालाई रु आठ लाख ४२ हजार रकम अनुदानस्वरुप उपलब्ध गराएको छ । चार सय २१ जनालाई रु दुई हजारका दरले अनुदान रकम उपलब्ध गराएको छ ।

सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि रु दुई लाखको लागतमा वनभोज स्थल निर्माण गर्ने योजना अघि सारिएको छ ।
सामुदायिक वनमा आबद्ध उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आयआर्जनका कार्य गर्नका लागि अनुदान रकम दिने व्यवस्थासमेत गरिएको छ । जसबाट चार दर्जन बढी उपभोक्ता लाभान्वित भएका छन् । हाल सामुदायिक वनको कोषमा रु १४ लाख रकम बचत रहेको छ ।

तराईदेखि चुरेको फेदीसम्म ४१७ हेक्टरमा फैलिएको सामुदायिक वनमा विभिन्न प्रकारका जडीबुटी पाइनुका साथै जङ्गली जनावर र चराचुरुङ्गीका लागि प्रख्यात रहेको छ । चितल, बँदेल, निलगाई, पाटेबाघ, चितुवा, वन कुुखुरा, बाँदर, स्याल, गोही, सुन गोहरा, खरायो, धनेश, मजुरलगायत सामुदायिक वनमा सहजै देख्न सकिन्छ । विसं २०५४ मा स्थापना भएको सामुदायिक वनमा ९०० बढी उपभोक्ता आश्रित रहेका छन् ।