पर्यटन/संस्कृति

देवी मन्दिर निर्माणका लागि बालबालिकाको चन्दा दान

काठमाडौँ । नवदुर्गाको विशेष आराधना गरिने दशैँका अवसरमा देवीको मन्दिर बनाउन कागेश्वरी मनोहरा नगरपालिका–१, भोर्लेटारका १४ बालबालिकाले चन्दा दान गरेका छन् ।

दशैँका अवसरमा गाउँको विकासका बारेमा छलफल गर्न महानवमीका दिन आयोजना गरिएको कार्यक्रममा सातदेखि १० वर्ष उमेरका बालबालिकाले रु १० उठाउन थालेपछि प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले रु ४९ हजारको चेक हस्तान्तरण गरे। साविकको गागलफेदीका पूर्वगाविस अध्यक्ष विश्वराज श्रेष्ठले पनि रु ४० हजार दान गरे ।

विकास निर्माणका बारेमा छलफल गर्न बोलाइएको कार्यक्रमबाटै रु ८९ हजार १४० उठ्यो । जम्मा भएको पैसाले भीमादेवीको मन्दिर बनाइनेछ । सो अवसरमा प्रदेशसभा सदस्य फुयाँलले विकास निर्माणका काममा सबैको सहभागिता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विनोद ढकालको अध्यक्षतामा २५ सदस्यीय भोर्लेटार विकास संस्था पनि गठन गरियो । मन्दिरको निर्माण पनि यसै संस्थाले गर्ने अध्यक्ष ढकालले जानकारी दिए।