कर्णाली प्रदेश

समृद्ध कर्णाली प्रदेश निर्माणमा सरकार केन्द्रीतः मन्त्री खत्री

रुकुम पश्चिम । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले समृद्ध कर्णाली प्रदेश निर्माणमा सरकार केन्द्रीत भएको बताए । रङ्गशाला निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–६ मग्मामा आयोजित खेलकूद तथा सांस्कृतिक कार्यक्रममा उनले प्रदेश सरकारबाट आउने बजेटको सदुपयोग गर्ने कार्यमा सचेतना अपनाउन सबैमा आग्रह गरे।

मन्त्री खत्रीले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि प्रदेश सरकार लागि परेको उल्लेख गर्दै रङ्गशाला निर्माणका लागि सरकारले रु २१ करोड बजेट विनियोजन गरेको जानकारी दिए । प्रगतिशील युवा क्लब बाँफीकोट–६ ले रङ्गशाला निर्माणको सहयोगार्थ खेलकूद प्रतियोगिता आयोजना गरेको बताइएको छ ।