बाग्मती

दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल तिव्र

काठमाडौँ । दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ । दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका छन् । शनिबार एकैदिन १२ हजार ७८९ सवारीबाट एक लाख सात हजार ३४८ यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता दामोदर सिलवालले जानकारी दिए । आज रातिसम्म सो सङ्ख्या अझै बढ्नेछ ।

यसैगरी सात हजार ३४८ सवारीबाट ६० हजार ३६८ यात्रु उपत्यका बाहिर गएका छन् । विजयादशमीअघि उपत्यका बाहिरिने सवारीको सङ्ख्या धेरै थियो भने हाल भित्रिनेको सङ्ख्या बढी छ । आजदेखि सरकारी कार्यालयसमेत सञ्चालनमा आएकाले यात्रुको आगमन क्रमशः बढ्दै जाने महाशाखाले जनाएको छ । गत वर्षसम्म आश्विन शुक्ल द्वादशीका दिन (आज) सम्म सरकारी कार्यालय बिदा हुने गरेकामा यस वर्ष सो बिदा हटाइएको छ ।

मानिसको चहलपहल बढेसँगै नवदुर्गाको प्रसादका रुपमा टीका जमरा थाप्न हिँड्नेको लाम पनि सडकमा देख्न सकिन्छ । यही कात्तिक २ गते विजयादशमीका दिनदेखि शुरु भएको टीका, प्रसाद र जमरा ग्रहण आश्विन शुक्ल पूर्णिमाका दिन ६ कात्तिक गतेसम्म लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसदिन अखिल बलि पूर्ति अर्थात् सबै बलि दिने काम सम्पन्न गरेपछि जमरा सेलाइन्छ ।

यसैबीच चाडबाडको मौका छोपेर बढी भाडा असुल गर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले तोकेभन्दा दोब्बरसम्म भाडा लिएर पनि यात्रुलाई ठगेको पाइएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिए । दशैँमा उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा असुल गरिएको गुनासो आएपछि विभागले चारसमूह परिचालन गरेर नाकामा अनुगमन गरेको थियो । कारवाहीमा परेका सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।