अन्तर्राष्ट्रिय

संसारको कल्पनाबाट अभिप्रेरितः रुसी विदेश मन्त्रालय

मस्को । रुससँग गरिएको ऐतिहासिक आणविक हतियारसम्बन्धी सन्धिबाट अलग हुने संयुक्तराज्य अमेरिकाको पहल विश्वमै एउटै मात्र ध्रुव हुने महाशक्ति हुने सपनाबाट अभिप्रेरित रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

“यसको मुख्य उद्देश्य नै आफूमात्र महाशक्ति हुने एकल ध्रुवीय विश्व निर्माण गर्नु हो । के यो सम्भव छ ? छैन,” विदेश मन्त्रालयको एक स्रोतले रिया नोभोस्ती समाचार समितिलाई बतायो ।

ती अधिकारीले रसियाले आणविक सम्झौता रद्द गर्ने अमेरिकी नीतिको धेरैपटक खुलेरै बिरोध गरेको बताए ।

वासिङ्टनले विगतदेखि नै यो सम्झौताको उल्लङ्घन गरिरहेको थियो, नाम बताउन नचाहने ती अधिकारीले बताए । “यो निर्णय विगतमा अन्तर्राष्ट्रिय कानुनी सम्झौताबाट फिर्ता हुने अमेरिकी नीतिकै एक हिस्सा हो जसले दुवै मुलुकबीच आणविक अप्रसारमा समान जवाफदेहीता सुनिश्चित गरेको थियो ।”

रुसी सिनेटर अलेक्सी पुस्कोभले ट्वीट गर्दै ट्रम्पको पछिल्लो कदम विश्वमै रणनीतिक स्थायित्वको सम्पूर्ण प्रणालीका विरुद्धको दोस्रो घातक प्रहार रहेको बताए । यसअघि पनि वासिङ्टन सन् २००१ मा एन्टी–ब्यालिस्टिक मिसाइल सन्धिबाट अलग भएको थियो ।

“फेरि पनि सम्झौता तोड्ने अगुवाइ संयुक्तराज्य अमेरिकाले नै गरेको छ,” पुस्कोभले लेखेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावीसभा पछि पत्रकारहरुसँग कुरा गर्दै रुससँग गरिएको शीतयुद्धकालीन आणविक अस्त्रसम्बन्धी सन्धिबाट अमेरिका अलग हुने योजना बनाएको बताउनुभएको थियो । आलोचकहरुले विश्वकै महाशक्ति राष्ट्र हुने अमेरिकी चाहनाबाट अभिप्रेरित रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले तीन दशकअघिको मध्यमदूरीको आणविक अस्त्रसम्बन्धी सन्धि (आइएनएफ) को रुसले लामो समयदेखि उल्लङ्घन गरेको दाबी गर्नुभयो । यो सन्धि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालीन सोभियत सङ्घका राष्ट्रपति मिखाइल गोर्भाचोभबीच सन् १९८७ मा भएको थियो ।

“रसियाले यो सन्धिको उल्लङ्घन गरेको छ । धेरै वर्षदेखि उनीहरुले यसको उल्लङ्घन गरिरहेका छन् । मलाई थाहा छैन पूर्व राष्ट्रपति बाराक ओबामाले यो सन्धिबारे किन वार्ता गरेनन् वा सम्झौताबाट अलग हुने निर्णय गरेनन् । हामी आणविक सम्झौता उल्लङ्घन भइरहन दिँदैनौं ।” –एजेन्सी