अन्तर्राष्ट्रिय

अफगान संसदको मतदान जारी

काबुल । अफगानिस्तानको संसदको निर्वाचनका क्रममा हिंसात्मक घटनाका कारण स्थगित भएका र ढिलाई भएका मतदान केन्द्रहरुमा आज मतदान भइरहेको छ ।

अफगान निर्वाचन आयोगका अध्यक्ष अब्दुल बादी सयतले शनिबारको मतदानमा ८८ लाख मतदातामध्ये ३० लाखले मतदान गरेको जानकारी दिए । सबैभन्दा बढी मतदान काबुलमा भएको थियो भने दक्षिणी उरुजगान प्रान्तमा सबैभन्दा न्यून मतदान भएको थियो । आइतबार देशभरका ४०१ मतदान केन्द्रमा मतदान हुनेछ । काबुलमा मात्र ४१ स्थानमा मतदान हुँदैछ ।

संसदको यस निर्वाचनमा २७ जना सर्वसाधारण र ११ जना सुरक्षाकर्मीको मत्यु भएको तथा एक सयभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् । अफगानिस्तानका मुख्य विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेट्सले निर्वाचन बहिस्कार गरेका छन् । उनीहरुले निर्वाचनको पूर्वसन्ध्यामा आक्रमणको शृङ्खला जारी राख्नुका साथै स्थानीयबासीलाई मतदानमा सहभागी नहुन आह्वान गरेका थिए ।

यसैबीच, अफगानिस्तानको गृह मन्त्रालयले शनिबारको मतदानमा देशभर एकसय ९२ वटा आक्रमणका घटना भएको जनाएको छ । गृहमन्त्री वाइस बार्माकले निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा भएको दाबी गरे। अफगानिस्तानको रणनीतिक महत्वको शहर कान्दाहारमा गत साता विद्रोहीको आक्रमणबाट प्रान्तीय प्रहरी प्रमुख अब्दुल राजिकको हत्या भएपछि कान्दाहारमा मतदान एक साताका लागि स्थगित गरिएको छ । सुरक्षाका कारण घाज्नी प्रान्तमा पनि मतदान स्थगन भएको छ ।