तस्विरहरु

३२ बर्षपछि आज राति उल्का वर्षा हुने, देखिनेछन यस्ता दृश्य ! (फोटोफिचर)

काठमाडौँ । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ ।

 

उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्कावर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि सोमबार बिहान ३ः४५ बजेपछिको समय उत्तम हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा २० सम्म उल्का देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करीब ७० किमीमाथिको वायुमण्डलमा घर्षण पैदा भएको दृश्य देखिन्छ ।

पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छाड्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको नजीक पुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई हामी उल्का वर्षा भन्छौँ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्तका माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलीको पुच्छ्रेतारा’ भनिएको हो । यसले ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब सन् २०६१ मा देखिने सोसाइटीले जनाएको छ ।