सूचना प्रविधि

कर्णालीमा मोबाइल एप्स

हुम्ला । सिमकोट गाउँपालिकाले पहिलो पटक मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक सेवासुविधालाई अझ सरल, सुलभ र सर्वसाधारणका लागि सजिलै सूचना प्रवाह गर्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायब सुब्बा ममता महतले बताए । अब सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गाउँपालिकाका गतिविधि सजिलै मोबाइलमार्फत हेर्न सकिने व्यवस्था भएको नासु महतले बताए।

साविक कर्णालीका अन्य चार जिल्ला जुम्ला, मुगु, डोल्पा र कालीकोटलाई स्वीकृति नदिइएको र हुम्लाको सिमकोट गाउँपालिकालाई पहिलो पटक मोबाइल एप्स स्वीकृति दिइएको गाउँपालिका उपाध्यक्ष वली रावतले जानकारी दिए । आफ्नो मोबाइलमा रहेको प्ले स्टोरमा गई सिमकोट रुरल म्युनिसिप्यालिटी टाइप गरी डाउनलोड गरेर सिमकोट गाउँपालिकाको हरेक सूचना गतिविधि मोबाइलमार्फत नै जानकारी लिन सकिने महतले बताए ।