उर्जा

इन्द्र सरोवरको योगदान: बिजुली र पर्यटन

कुलेखानी । कुलेखानी जलाशय अर्थात् इन्द्रसरोवर । मानवनिर्मित यस तालले देशलाई उज्यालो पार्नमा योगदान त वर्षौंदेखि दिएको छ नै, त्यसमाथि यहाँ आइपुग्ने जो कोहीलाई पनि मनै उज्यालो पार्ने गरी शीतलता र शान्ति पनि दिँदै आएको छ ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी खोलामा निर्मित यस तालबाट कुलेखानी–१ जलविद्युत् आयोजना सञ्चालन गर्न सहयोग पुगेको छ भने ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ । यसै तालको पानीबाट कुलेखानी प्रथम जलविद्युत् आयोजनाले ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । अझ यहाँबाटै गएको पानीबाट सञ्चालित कुलेखानी–२ र कुलेखानी–३ ले पनि क्रमशः थप ३० मेवा र १४ मेवा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा योगदान पु¥याउने भएका छन् ।

वरिपरि माथिल्लो भेगमा बस्ती तथा तल्लो भेगमा जङ्गलले घेरिएको सफा नीलो पानीको यस दहले यहाँ आइपुग्ने प्रायः आन्तरिक पर्यटकलाई मन्त्रमुग्ध पार्छ । शहरी कोलाहलबाट त्यहाँ पुग्ने सबैलाई यसको शान्त अवस्थिति, परिवेश र जङ्गलले शीतलता र शान्तिको अनुभूति गराउँछ ।

इन्द्रसरोवरको लम्बाइ आठ किमी र गहिराइ करीब ९७ मिटर छ । यो ताल २०३८ सालमा बनेको हो । त्यसयता यसले अनवरत ६० मेवा (अधिकतम क्षमतामा) विद्युत् उत्पादन गरिरहेको छ । शनिबार बिहान ११ बजे सरोवरको पानीको सतह १५२५।६९ मिटर रहेको बताउँदै प्राधिकरण कुलेखानी बाँध क्षेत्रस्थित एकाइमा कार्यरत इलेक्ट्रिसियन सन्तोषकुमार विष्ट भन्छन्, “बढी र घटी पानीले हाल त केही फरक पर्दैन, क्षमता त उही ६० मेवा नै हो तर सञ्चित पानीबाट सुख्खायाममा विद्युत् उत्पादन गर्न सकिन्छ ।

उनले कुलेखानीकै पानीबाट नै भैँसेमा ३० मेवाको कुलेखानी दोस्रोबाट विद्युत् उत्पादन गरिएको तथा सानुटार (मकवानपुरको सुपारेटार नजीक)१४ मेवाको काम भइरहेको जानकारी दिए । सम्भवतः आगामी छ महीनामा त्यहाँबाट पनि विद्युत् उत्पादन हुने अपेक्षा गरिएको उनले बताए ।

उनका अनुसार कुलेखानी बाँधबाट छ किमी सुरुङमार्फत लगिएको पानीले धुर्सिङमा ६० मेवा विद्युत् निकालिन्छ । आयोजनाको विद्युत्गृह सोही स्थानको ढोकाफेदीमा भूमिगत रहेको छ । तालमा पानीको सतह समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पनि पुग्छ । सो अवस्थामा पानीको गहिराइ १०७ मिटर हुन्छ ।

ताल कुलेखानी खोलालाई छेकेर बनाउँदा आठ किमी लामो बनेको छ । मार्खुसम्म पुग्ने उनले प्रष्ट पारे । तालको बाँधको उचाइ भने ११४ मिटर छ । यस आयोजनाबाट विद्युत् उत्पादनपछि सो पानी माण्डुमा निस्कन्छ ।

ताल ज्यादै मनोरम र सफा नीलो पानी हुनाले यहाँ आन्तरिक पर्यटक प्रशस्तै आउने गर्छन् । शनिबार दशैँको बिदा परेकाले चहलपहलमा केही कमी देखिए पनि आगन्तुक धेरै नघटेको बाँधक्षेत्रको कलङ्कीस्थित कुलेखानी भ्यू होटलका सञ्चालक विकास बलामी बताउँछन् । खासगरी शुक्रबार र शनिबार यहाँ आन्तरिक पर्यटक खचाखच हुन्छन् ।

यहाँ कुलेखानीको माछा पनि पाइने तर माछा भने मत्स्य व्यवसायी सङ्घमार्फत मात्र माछा मार्ने र संस्थामार्फत नै बिक्री हुने बलामीले जानकारी दिए । सङ्घमार्फत बिक्री हुने माछा बिगहेड र सिल्भर कार्प रु २५० प्रति केजी र कमन तथा ग्रास कार्पको रु २७५ प्रतिकेजीमा बिक्री हुने गरेको छ ।

तालका किनारको जङ्गली बाटोभरी युवा तथा शिशुसहित टाढा टाढाबाट आएका दम्पती तालको तस्वीर तथा सेल्फी खिंचिरहेका भेटिन्छन् । काठमाडौँ महाराजगञ्ज बस्ने वचन राईले ताल सुन्दर, शान्त र मनमोहक भएकाले साथीसँगै घुम्न आएको बताए ।

यहाँ आउने आन्तरिक पर्यटक प्रायःजसो मोटरसाइकल तथा निजी सवारीमा आउँछन् । खास बाँधनिर नेपाली सेनाको राजदल गण क्युवेक ब्याट्रीले पहरा दिइरहेकाले त्यहाँ भने तस्वीर खिंच्न मनाही गरिँदा केही असजिलो महसुस गरिए पनि अन्यत्रबाट तालको तस्वीर राम्रैसँग लिन सकिन्छ ।

यहाँ समूहमा आउने तथा वनभोज खान चाहनेलाई भने भिरालो जमीन भएकाले अलि असहज छ । वनभोजका लागि केही सीमित स्थान भए पनि त्यत्ति व्यवस्थित नभएको बलामीले बताए। आगन्तुकका लागि स्थानीयस्तरका धेरै कम होटल मात्र ताल किनाराको कलङ्की भन्ने स्थानमा छन् जहाँ खाजा तथा खाना उपलब्ध हुन्छ ।