लुम्बिनी

सात सयभन्दा बढी मुक्त कमैयालाई जग्गा

तुलसीपुर । दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७०५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिए । सरकारले विवादित जग्गाको लालपुर्जा दिँदा मुक्त कमैयाले जग्गामा आवास र जोतभोग गर्न नपाएको उनको भनाइ छ ।

सरकारले निकै ढिलो गतिमा मुक्त कमैया व्यवस्थापन गरिरहेको भन्दै उनले अझै तीन हजार ३६५ जना मुक्त कमैयाले कुनै पनि परिचयपत्र पाउन नसकेको बताए । मुक्त कमैयाको व्यवस्थापनमा पटक पटक आन्दोलन र दबाब दिँदै आए पनि अपेक्षित प्रगति भने हुन नसकेको बताइएको छ ।

छाडा चौपायाले बालीनालीमा नोक्सानी

यहाँ छाडा चौपायाले स्थानीयवासीको बालीनाली नोक्सान पु¥याउने गरेका छन् । छाडा चौपाया व्यवस्थापन हुन नसक्दा स्थानीयवासीलाई निकै समस्या हुने गरेको छ । ती छाडा चौपायाले गाउँमा पुगेर स्थानीयवासीको धान, तोरी तथा तरकारी बालीमा समेत क्षति पु¥याउने गरेका छन् ।

रातको समयमा गाउँमा पशुचौपाया पसेर लगाएको बालीनालीमा क्षपि पु¥याउने गरेको स्थानीयवासी यमुना वलीले बताए । दिनभर बजार क्षेत्रमा हुने चौपायाहरु रातपरेपछि गाउँ पस्ने गरेका छन् । चौपायाहरु छाडा छोड्नेहरुलाई कुनै कारवाही नहुँदा झनै अव्यवस्थित भएको स्थानीयको गुनासो छ । तुलसीपुर उपमहानगरपालिकाले भने छाडा चौपायाले नागरिकलाई सास्ती दिएको भन्दै अब छिट्टै व्यवस्थापन गर्ने छाडा चौपाया व्यवस्थापन समितिका संयोजक कुमार लामिछानेले बताए ।