समाचार

ज्येष्ठ नागरिक भन्छन्ः बृद्ध भत्ता बढाउछु भन्ने सरकारले दशैँमा भत्ता समेत दिएन

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश गरेका हुन् ।

हरेक वर्ष दशैँको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको भए पनि यस वर्ष नगरपालिकाले दशैँमा सामाजिक सुरक्षा भत्ता नदिएको कोल्टीका ज्येष्ठ नागरिक चन्द्रमान रेग्मीले बताए । स्थानीय सरकार आएपछि सामाजिक सुरक्षा भत्ता पाउन सहज होला भन्ठानेका ज्येष्ठ नागरिकले स्थानीय तहले लापरवाही गरेर ज्येष्ठ नागरिक, बालबालिका र अन्य सामाजिक सुरक्षा भत्ता पाउनेको सेवा सुविधामा खेलबाड गरेको गुनासो गरेका छन् ।

बूढीनन्दा नगरपालिकामा करीब एक हजार २०० ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाका लागि प्रतिचौमासिक करीब रु एक करोड १० लाख सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिन्छ । बूढीनन्दा नगरपालिकाका सूचना अधिकारी रामदत्त न्यौपानेले कामको चापले हतार भएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको बताए । प्रमुख प्रशासकीय अधिकृत ढिलो आएपछि अन्य कर्मचारीलाई समेत तलब खुवाउन समस्या भएको र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न नसकिएको उनले स्वीकार गरे ।