समाचार

एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर बनौं : सभापति देउवा

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ३ करोड नेपाली जनतालाई विजया दशमीको शुभ–कामना दिएका छन् । उनले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, “आज विजया दशमीको पावन दिनमा म सम्पूर्ण दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक
शुभ–कामना व्यक्त गर्दछु ।
विजया दशमी हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक पनि हो । विजया दशमीले हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ ।
नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको छ । यो ऐतिहासिक उपलब्धी पछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर हुनु पर्ने बेला आएको छ ।
मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ । साथै, मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन विजया दशमीले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई विर्सेर, देशको सर्वांगीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्नेछ ।
आजको यो पुनीत अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्पmबाट स्वदेश तथा विदेश जहाँ रहनुभएको भए पनि सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।
जय नेपाल !”