कुराकानी

केपी ओली नेतृत्वको सरकार पुरा पाँच बर्ष टिक्छ: लालबाबु पण्डित, सामान्य प्रशासन मन्त्री (कुराकानी)

काठमाडौँ । यतिबेला देशका गाउँगाउँ बडा दशैंको माहोलले तातेको छ तर काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रका सडक र पसल सुनसान छन् । आज सम्म करिब २३ लाखको हाराहारीमा मानिसले राजधानी छोडिसकेको सरकारी रेकर्ड सार्बजनिक भईसकेको छ । दशैँको टीकाको दिनसम्म यो संख्या २४ लाख भन्दा बढी हुने आँकलन गरिएको छ । जनता जस्तै देशका राजनीतिज्ञहरुलाई पनि दशैँ लागिसकेको छ । तर बहालवाला सामान्य प्रशासन मन्त्री र उनको सानो परिवारलाई दशैं लागेको देखिएन । दशैंमा प्रेश, सुरक्षाकर्मी, अस्पताल, औषधी पसल, फलफुल पसल लगायतलाई दशैंले खासै छुदैन, ब्यावशायीहरु कतीपय दशैंको मुखमा कमाई हुने हुंदा पसल बन्द गर्दैनन् भने सुरक्षाकर्मी, मीडिया भने बिदा नमिलेर दशैं मनाउन पाउदैनन् । मन्त्रीहरुको दशैँ कस्तो हुन्छ, कसरी मनाउँछन्, आम सर्वसाधारण जनता जान्न चाहन सक्छन् । मन्त्रीहरुको पनि दशैँ एउटै हुँदैन । विभिन्न मन्त्रीहरुले फरक फरक तरिकाले र फरक फरक तरीकाले गरेर दशैँ मनाउने गर्छन् । कतीपय मन्त्रीहरु फुर्तीफार्तीका साथ दशैं मनाउदछन् भने कतीपय सामान्य रुपमा त्यो मात्र फरक हो ।

यसैबीच, हामीले नेपालीहरुको महान पर्व बडांदशैंको अवसर पारेर ०७२ सालमा समेत सामान्य प्रशासनमन्त्री बनेर लोकप्रियता कमाएका बर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग दशैं र समसामायीक राजनीतिक गतिबिधिका बिषयमा संक्षिप्त कुराकानी गरेका छौँ । प्रस्तुत छ उनै मन्त्री पण्डितसँग विजयादशमीको सेरोफेरो, देशको समसामयिक राजनीतिक घटनाक्रम र अन्य देशमा पछिल्लो समय बढेका हिंसाका घटना अर्थात देश र जनताको विगत, आगत र भविश्य गरी तिनै कालसँग जोडिएर सूर्यखबर डटकम प्रतिनिधिले गरेको कुराकानीः

मन्त्री ज्यू देशभर दशैँको माहोल बढेको छ यहाँको दशै कस्तोहुंदैछ र के गर्दै हुनुहुन्छ ?

–धन्यवाद छ तपाईको मिडियामार्फत सम्पूर्ण देशबासीलाई विजयादशमी २०७५ सालको धेरैँ धेरैँ शुभकामना छ । अहिले पारीवारिक, अध्ययन र मन्त्रालयकै काममा व्यस्त छु भन्नुपर्छ ।

कम्युनिष्ट विचारधारा र सिद्धान्तमा दशैँतिहार भन्ने चाडपर्व हुदैन हैन मन्त्रीज्यू ?

–विचारधारा र सिद्धान्त कुनै पनि देशमा लागू हुन्छ । सिद्धान्त सबैमा लागू हुदैँन । अनि विचारधाराभित्र संस्कृति, परम्परा र मान्यताहरु रहन्छन् त्यसकारणले राम्रा संस्कृतिहरुलाई, राम्रा, परम्पराहरुलाई र राम्रा मान्यताहरुलाई अबलम्बन गर्नुपर्छ, हामी दशैं मनाउछौँ । अब त्यसले बेफाईदा गर्ने कुरा, चाहे त्यो देशलाई बेफाईदा गरोस् चाहे देशलाई बेफाईदा गरोस् । त्यो कुरा हामीले छोडिदिनुपर्छ । कतिपय मानिसहरुले दशैँमा आवश्यकताभन्दा बढी शरिरलाई कष्ट हुनेगरी खानपिन गर्छन्, थरीथरी खानपिन गर्छन्, फजुल खर्च गर्छन् । त्यसको रिजल्ट नकारात्मक आउछ त्यसकारण शरिरलाई थेग्नेगरी समाजमा पच्ने गरी पारीवारिक खुसी र आनन्द हुनेगरी, साथीभाई ईष्टमित्रसँगको भेटघाट, सामाजिक सद्भाव बढ्नेगरी परम्परासँग जोडिएर हामी दशैँ मनाउछौँ र मनाउनुपर्छ ।

यहाँ त अहिलेको दुई तिहाई बहुमतसहितको सरकारको प्रभावशाली मन्त्री हुनुहुन्छ, महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहनुभएको छ, यो दशैँको माहोलमा कर्मचारीलाई के भन्नुहुन्छ ?

–राष्ट्रसेवक कर्मचारीहरुको सरकार र राष्ट्र निर्माणको महाअभियानमा महत्वपूर्ण भूमिका रहन्छ र सरकारको निर्णयलाई कार्यान्वयन गर्ने र प्रतिफल दिने स्थायी सरकार पनि राष्ट्रसेवक नै हो । सबै नेपालीले सम्पूर्ण नेपालीले सुख दुःखले नै मनाउँछन् । उहाँहरुपनि नेपालीभित्र पर्नुहुन्छ । सधैँ सुखै सुख हुदैँन र सधैँ दुखै दुःख पनि हुँदैन । सुख दुःख नै जिन्दगी हो । सुख दुःखलाई नै साथी बनाएर सर्ब मिलि राष्ट्र निर्माण गर्ने हो । त्यसकारण हामीले चाहेको सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा लागिरहेका छौँ । यो महाअभियानमा राष्ट्रसेवक कर्मचारीहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ र उहाँहरुले महत्वपूर्ण भूमिका निभाउनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।

काठमाडौँ क्षेत्र नम्बर ७ मा उपनिर्वाचनको हल्लाखल्ला निकै चल्यो, वरिष्ठ नेता बामदेव गौतम लड्ने भन्ने भयो, यसबारेमा केही बोल्नुहुन्छ ?

–क्षेत्र खाली नभईकन उपनिर्वाचन हुदैँन । जनताद्वारा निर्वाचित जनप्रतिनिधीहरु जनताको विश्वास छउञ्जेल रहिरहने भएका कारणले कुनै पनि किसिमको प्रभावमा परेर आफू जनतातर्फ पिठ्यु फर्काउने काम गर्न हुदैँन । जहाँसम्म काठमाडौँ ७ को कुरा हो । त्यो पूरानो बिषयवस्तु भईसक्यो । त्यसकारणले अलिअलि रहलपहलमात्रै बाँकी छ, त्यो रहलपहलको पछाडी लाग्नु आवश्यक छैन भन्ने मेरो धारणा छ ।

पछिल्लो समय प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेपालबीचको दुरी बढेको हो ?

–(मुस्कुराउँदैँ) अब ठूलाको ठूलै कुरा होला । ठूलाको कुरा सानालाई थाहा हुंदैन । त्यसकारणले दुरी बढ्नुको कुनैँ अर्थ देख्दिन । नमिलेको कुरा मिलाएर अगाडी बढ्नुपर्छ । देश र जनताले जिम्मेवारी दिएपछि एक भएर जिम्मेवारी पूरा गर्नुपर्दछ । सबैमा एकता र सद्भावको साथसाथैँ जनताको चाहना र भावनालाई कुठाराघात हुनेगरी कुनै काम कसैले पनि गर्नुहुदैन ।

१६ बर्ष पार्टीको कमाण्ड गरेको अनुभव भएको व्यक्ती, लोकतन्त्रका लागि अहम भूमिका खेलेको व्यक्तीलाई पाखा लगाउन खोजिएको छ भन्ने खालका टिप्पणीहरु मिडियामा पछिल्लो समय आएका छन् । यसबारे के भन्नुहुन्छ ?

–कसैले कसैलाई पाखा लगाउन सक्दैन । पहिलो कुरो आन्तरिक शक्ति नै हो बाह्य शक्ति त सहायक हुन्छ । त्यसकारणले कसैले कसैलाई पाखा लगाउने कुरा र क्रेनले तानेर स्थापित गर्ने कुरा अबको असम्भव भईसक्यो वा त्यो क्षणिक हुन्छ र क्षणिक कुराको परिणाम पनि क्षणिक नै हुन्छ ।

निर्मला पन्त हत्याकाण्ड प्रकरणबारे केही बोल्नुहुन्छ ?

–निर्मला पन्तको बलात्कारपछि गरिएको निर्मम हत्या प्रकणको सुरुमै केही कमजोरी भएकै हो र अहिले पनि अनुसन्धान जारी नै छ । परिणाम आउनेमा सरकार विश्वस्त छ । अनुसन्धानको क्रममा रहेकाले पहिला नै धेरै बोलिराख्नु आवश्यक र हितकर हुदैँन ।

बर्तमान राजनीतिक परिप्रेक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतबारे तपाईको टिप्पणी के छ ?

–नेपाली कांग्रेस लगायत अन्य सबै प्रतिपक्षीहरु साथीहरु राम्रो कामका निम्ति अघि बढौँ । सरकारले गरेको केही नराम्रो देख्नुहुन्छ भने छलफल गरौँ ।  एउटा नकारात्मक प्रवृति नेपालमा छ र त्यो केहो भन्दाखेरी सत्तापक्षलाई प्रतिपक्षले सकारात्मक कुरालाई समेत नकारात्मक देख्ने, विरोधका लागि मात्रै विरोध गर्ने वा प्रतिपक्षलाई सत्तापक्षले नकारात्मक देख्ने । दुईटै कुरा बेठिक हो त्यसकारणले अहिलेको सरकारले प्रतिपक्षलाई नकारात्मक रुपमा बुझ्दैन र घटनाक्रमहरुले पनि के जनाएको छ भने आवश्यक छलफल गरीकन हामी सहमती र कहिलेकाही सर्वसहमतीमा पुग्ने गरेकै छौँ । त्यसैकारणले गर्दाखेरि अहिले हामी संविधान निर्माण पश्चात संघीयताको प्रारम्भिक चरणमा छौँ ।  यसबाट हामीले संविधानलाई पनि समृद्ध बनाउनु छ । मुलुकलाई पनि समृद्धि बनाउनु छ भने विकास र सुशासनलाई पनि जोड दिएर जानुपन सबैको चाहना, भावना र आवश्यकता पनि हो । त्यसकारणले गर्दा यो विजयादशमीले सबैमा नयाँ सकारात्मक सोचको विकास होस, काँग्रेस पनि सहमती सहकार्य र एकताका पक्षमा बिरोधका लागी बिरोध भन्दा सरकारलाई रचनात्मक सहयोग गर्न लागी परोस भन्न चाहन्छु । ‘त्यसकारण हामीपनि यो देशका जनताको मुहारमा खुसियालीका लागि निरन्तर लागिरहेका छौँ । सुखी नेपाली र समृद्ध नेपाल निर्माणको नारालाई साकार पार्न अर्थात यो महाअभियानमा विजय प्राप्त गर्न सबैजनाले हातमा हात र काधँमा काध मिलाएर अघि बढौँ । खुसियाली आउँछ र दुनियाको सामु नेपालको बलियो पहिचान बन्छ भन्नेमा विश्वस्त छु र यसमा साथ र सहयोगको अपेक्षा गर्दछु’

तपाई जनताले मन पराएको र धेरै कुराको ज्ञान र जानकारी भएको मन्त्री पनि हुनुहुन्छ, पछिल्लो समय देशको अवस्था भद्रगोल बन्न थालेको छ, स्वास्थ्य, शिक्षाक्षेत्रमा कुरीति कुसंस्कार देखिएका छन्, देशमा विकासका पूर्वाधारको विकास जसरी हुनुपर्ने हो त्यसरी भएको देखिदैँन । यो भद्रगोल के कारणले भयो मन्त्री ज्यू ?

–अब ईतिहासदेखि नै भनौ न धेरै कुरा बनाउन बाँकी रहेको छ । विगतमा धेरैले जिम्मेवारी पन्छाउदै आईएको छ तर अहिले हामी जिम्मेवारी पन्छाउन चाहंदैनौँ । स्थायी सरकार बनेको तर समय त लाग्छ । जनताका धेरै चाहनाहरु छन् देशका धेरै नै आवश्यकताहरु छन् । भोक धेरै लागेको बेलामा पनि खाना त गाँसै बनाएर खाने न हो । र त्यो पनि प्राप्त स्रोध साधन अर्थात जे छ त्यसैलाई व्यवस्थित पारेर र मात्रा मिलाएर नै खाने हो । त्यसकारणले गर्दा देशको आवश्यता, हाम्रो क्षमता र त्यसपछि त्यसको प्राथमिकतालाई अगाडी सारेर हामी अगाडी बढ्छौँ र देशका हरेक समस्याहरु समधान गर्नतर्फ जान्छौँ । हामी ५ बर्षमा भद्रगोल हटाएर सरकारले काम गर्यो भन्ने जनतालाई महशुस गर्ने वातावरण बनाउने अभियानमा छौं ।

पाँच बर्षसम्म वर्तमान सरकार टिक्छ र त्यो समयावधिमा जनता र देशका सबै समस्याहरु समाधान हुन्छन् भन्ने तपाईको भनाईको तात्पर्य हो ?

–हो, सरकार पाँच बर्ष टिक्छ, टिक्नुपर्छ । जनताका धेरै भन्दा धेरै समस्या समाधान हुन्छन्, नेपालमा कुनै पनि सरकार पूरा अवधि टिकेको ईतिहास छैन । सरकारले जाँच नदिन पाउदै सरकार ढल्ने जुन प्रवृति थियो त्यसको अन्त्य भएको छ । यसपटक त्यो सम्भावना छैन र मैले भन्ने गरेको छु असारमा धान रोप्नासाथ एकमहिनापछि यदि धान काट्न गईयो भने घाँस पाईन्छ धान पाईदैँन । धान पाउनका निम्ति मंसिर कुर्नै पर्ने हुन्छ । जनताको चाहना होला यो धान फलेर दशैँमा नै धान बन्नोस भन्ने तर मात्रै चाहनाले पुग्दैन । समय लाग्छ र त्यो समय कुुरेर धैर्यता गर्नुपर्ने हुन्छ । अहिले सरकारको मूल्याङ्कन गर्ने बेलाको भईसकेको छैन् । प्रारम्भिक अवस्था छ । त्यो प्रारम्भिक अवस्थामा सरकारले सकारात्मक र सही दिशा पक्रेको छ । परिणाम आउने क्रममा छ र परिणाम आउदै गर्दा र परिणाम आईसक्दा जनताहरु धेरै सन्तुष्ट हुने स्थिती आउछ भन्ने मलाई लाग्छ । तर बहुदलिय प्रतिस्पर्धामा चुनावको बेलामा आफू परीक्षाको घडीमा प्रस्तुत हुनुपर्ने भएकोले गर्दा हामीचाहिँ कहिले पनि परीक्षाबाट भाग्न खोज्दैनौँ, जिम्मेवारी कुनैपनि हालतमा बिर्सिदैनौँ र दायित्व बोक्न पछि पर्दैनौँ ।

पछिल्लो समय सरकारले कर बढाएर जनताको ढाड सेक्न खोजेको हो ?

–कर नउठाई मुलुक चल्दैन । देश संघीय संरचनामा गएपछि कर तिन तहले नै उठाउछ । तर हाम्रो बानी के परेको छ भने गाउँपालिका अर्थात स्थानिय तहले उठाएको करलाई केन्द्र सरकारसँग जोड्ने, प्रादेशिक सरकारले उठाएको करलाई केन्द्रसँग जोडिएको छ । कानुन विपरित कर उठाईएको छ भने त्यो रोक्ने काम पनि भएको छ । निमानुसार कर नउठाईकन अर्थात भकारीमा धान नहालिकन आवश्यक परेको बेलामा रित्ता भकारी देखाएर कुनै अर्थ छैन् । उत्पादन नभईकन भकारीमा अन्न आउदैन, कर नउठाएर देश चल्दैँन । करको दर नेपाली जनताको क्रयशक्तिलाई हेरेर गर्नुपर्दछ तर दायरा चाहिँ बढाउनुपर्छ भन्ने मलाई लाग्छ ।

कर्मचारीहरुले खटाएको ठाउँमा जानुपर्छ र ट्रेड युनियन खारेज गर्नुपर्छ भन्ने यहाँले जुन लोकप्रिय गफ गर्नुभएको थियो त्यो कार्यान्यवनको अवस्था के छ ?

–राष्ट्रसेवक कर्मचारीहरुले यो क्षेत्रमा प्रवेश गर्दा नै जुनसुकै बेला र सरकारले खटाएको जुनसुकै ठाउँमा पनि जान तयार छु भनेका कारण र देशको आवश्यकता अनुसार सरकारले पठाएको जुनसुकै ठाउँमा सरुवाका लागि उनीहरु तयार रहनुपर्छ । ट्रेड युनियन आवश्यक छ तर नीति निर्माणमा मात्रै । ड्युटी आवरमा ट्रेड युनियन गतिविधी हुनुहुदैँन भन्ने कुरा कार्यान्वयनमा आईसकेको छ र ट्रेड युनियन जुन काजमा बस्ने कुरा थियो । श्रावण १ गतेदेखि कोही पनि ट्रेड युनियन काजमा छैन । सबैले काम गर्नुपर्दछ । मैले अघि पनि भने कामको समयमा ट्रेड युनियन गतिविधी हुनुहुंदैन । अफआवरमा, छुट्टीको दिन वा छुट्टी लिएर ट्रेड युनियन गतिविधी गर्न सकिन्छ । राष्ट्रको सेवा गर्ने समयमा राष्ट्रको सेवा गर्नुपर्दछ । सरुवा बढुवा लगायत जुन कतिपय कार्यक्षेत्र भन्दा बाहिर गएर पारिने प्रभावहरु थिए ती प्रभावहरु धेरै हदसम्म भईसकेको छ र केही समाप्त हुनेक्रममा छन् र तिनलाई म समाप्त गर्छु ।

यहाँको भावी योजना सफल होस् शुभकामना छ र अन्त्यमा सूर्यखबर डटकममार्फत सबै पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?

–सकारात्म सोच बनाऔँ, सकारात्मक कामका निमित्त लागौँ । नकारात्मक त्यागौँ । आफूभित्र पनि कुरा बोक्नु आवश्यक छैन् । सबै मिलि देश निर्माणमा हातमालो गरौँ र संसारमै सम्मानित व्यक्तित्वहरु, पुजनिय व्यक्तीत्वहरु चाहे धार्मिक, चाहे सांस्कृतिक, चाहे राजनीतिक, चाहे सामाजिक जो छ दुःख, कष्ट, त्याग, समर्पण नगरिकन आज उदाहरणीय बनेका छैन् । त्यसकारण दुःख कष्ट देखि भाग्ने र सुखमा पनि सधैँ दुःखै छ भनेर सोच्ने प्रवृति गलत हो । सापेक्ष रुपमा सुख र दुःख हुन्छ । निरपेक्ष रुपमा सोच्नुहुंदैन । सुखलाई पनि निरपेक्ष रुपमा सोच्नुहुंदैन र दुःखलाई पनि निरपेक्ष रुपमा सोच्नुहुंदैन । यही नै मेरो शुभकामना छ सबै देशबासी जनतालाई । रामायणमा राम र रावणको युद्ध नभएको भए रामायण हुने थिएन । न्याय र अन्याय बीचको लडाँई नभएको भए रामायण हुने थिएन् । त्याग र समर्पण नभएको भए राम लक्ष्मण सीता लगायत हुने थिएनन् । निजी पींडामा पनि एक किसिमले सीताले पनि देशत्याग गरेकै हो । हामी विजयको टीका लगाउछौँ । विजयादशमीको दिन भन्ने हो भने त्यो भित्र खुसियाली मात्रै हुंदैन । रामायण भित्र पिडा पनि थियो र कतिपय पिडाहरु पनि बिर्सेर राम्रो कुराको जित हुंदा त्यो जितमा रमाउने पनि हो । ऐतिहासिक काल यत्रो समय भईसक्यो तैपनि जितको अवसरमा पींडालाई बिर्सेर टीका लगाउने गर्छौँ वा विभिन्न किसिमले बडा दशैँ मनाउछौँ । त्यसकारण हामीपनि यो देशका जनताको मुहारमा खुसियालीका लागि निरन्तर लागिरहेका छौँ । सुखी नेपाली र समृद्ध नेपाल निर्माणको नारालाई साकार पार्न अर्थात यो महाअभियानमा विजय प्राप्त गर्न सबैजनाले हातमा हात र काँधमा काँध मिलाएर अघि बढौँ । खुसियाली आउँछ र दुनियाको सामु नेपालको बलियो पहिचान बन्छ भन्नेमा विश्वस्त छु र यसमा साथ र सहयोगको अपेक्षा गर्दछु ।