प्रदेश 2

ड्रग्स सहित फरार भएका दुई अभियुक्त प्रहरी फन्दामा

गौशाला । लागुऔषध गाँजा कारोबार मुद्दामा १८ वर्ष र १५ वर्षदेखि फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ का ५२ वर्षीय छेदी साह र ५४ वर्षीय रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

पक्राउ परेका साह विसं २०५७ कात्तिक ४ गतेका दिन आफ्नै घरमा १०१ किलो प्रतिबन्धित लागुऔषध गाँजा राखी बिक्री वितरण गर्न लागेको अवस्थामा प्रहरीले उक्त गाँजा सुराकीको आधारमा छापा मारी नियन्त्रणमा लिएको थियो भने कारोबारी साह घरबाट भाग्न सफल भएका थिए ।

त्यस्तै अर्का कारोबारी यादव विसं २०६० असार २१ गतेका दिन ज१त ३२२ नं को ट्याक्टरमा बालुवा लोड गरी बालुवाभित्र २०० किलो प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गर्न लागेको अवस्थामा प्रहरीले सुराकीको आधारमा जानकारी पाएपछि जलेश्वर–सम्सी सडकखण्डमा आरोपीले प्रहरीलाई देखेर ट्याक्टर छाडी भागेका थिए ।

क्रमशः १८ वर्ष र १५ वर्षदेखि लागुऔषध गाँजा कारोबार मुद्दामा फरार दुवै अभियुक्त दशैँ मेला मान्नका लागि लुकीछिपी गाउँघरमा आएको जानकारी पाएपछि प्रहरीले दुवैलाई घरैबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यस्तै महोत्तरीको विभिन्न सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतबाट बलिका लागि बोका ल्याउनेसँग जथाभावी रकम असुल गरिरहेका छन् ।

जलेश्वर नगरपालिका–२ का बद्री पासवानले जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोड हुँदै बोका ल्याएपछि उनलाई त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले पैसा मागेको आरोप लगाएका छन् ।

उनले आफूजस्ता दर्जनाँै व्यक्तिसँग प्रहरीले न्यूनतम रु ५० देखि १०० र कसैसँग रु १५० सम्म माग्ने गरेको बताए । त्यस्तै जिल्लाको मटिहानी, सम्सी, खैरबन्नी, रघुनाथपुर, बथनाहा, कटैया, मनरालगायतका नाकाबाट पनि दशैँको बलिका लागि खसी बोका ल्याउनेसँग प्रहरीले रकम असुली गर्ने गरेको गुनासो सर्वसाधारणले गरेका छन् ।

प्रहरीले जाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको र व्यापारीबाट धम्क्याएर जबर्जस्ती रकम असुली गर्ने गरेको एक व्यक्तिले नाम नछाप्ने शर्तमा बताए । त्यस्तै कसैकसैसँग प्रहरीले खर्चबर्च दिनुस् भन्दै पनि रकम असुली गर्ने गरेको सर्वसाधारणको गुनासो छ ।

महोत्तरीमा भारतसँग जोडिएका साना–ठूला गरी जम्मा १३ नाका छन् भने खुला वनसमेत रहेको छ । सबैतिर अहिले दशैँको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् र उनीहरू खसी बोका ल्याउनेसँग जथाभावी रकम असुली गर्ने गरेको जनाइएको छ ।