पर्यटन/संस्कृति

आज महाअष्टमीः पशुबलिसहित पूजाअर्चना गर्नेको बिहानैदेखि ओईरो, पशुबलिबारे शास्त्र के भन्छ ?

काठमाडौँ । दुर्गा भवानीको बिशेष पूजाआजा गरी आज महाअष्टमी पर्व मनाईदैँछ । नवरात्रीको आठौँ दिन आज दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिनका रुपमा मनाईदैँ आईएको छ । घटस्थापनाका दिन परम्पराअनुसार कलस र जमरा राखिएको ठाउँमा बिशेष पूजाअर्चना गरिने हुनाले बिहानैँ देखि देशभरका शक्तीपीठमा दर्शनार्थीको घुईचो लागेको हो ।

शास्त्रसम्मत र विधिविधानअनुसार देशभरीका दुर्गा शक्तिपीठमा आजको दिन पशुबली दिईन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिने यो दिनमा चेतनशील र अचेतनशील प्राणीले मोक्ष पाउने धार्मिक विश्वासले आजको दिन कुखुरा, हासँ, बोँका, रागाँ लगायत प्राणीको बलि चढाईन्छ भने बलि चढाउन नचाहनेहरुले कुभिन्डो, घिरौला, काक्रो लगायतका फलफूललाई पशुपन्छीको स्वरुपमा बदलेर बलि दिने गर्दछन् । पशुबली शास्त्रमा नै स्पष्ट उल्लेख गरिएकाले यसलाई अशास्त्रीय भन्न नमिल्ने विभिन्न धर्मशास्त्रविद्को भनाई छ ।

यसैबीच, राजधानी लगायत देशका प्रायः सबै दुर्गा शक्तिपिठहरुमा पशुपक्षी बलीसहित पूजाआजा गर्ने भक्तजनहरुको बिहानै देखि ओईरो लागेको छ । काठमाडौँ उपत्यकाका भद्रकाली, नक्साल भगवती, शोभा भगवती, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली,गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, विजेश्वरी, इन्द्रायणी, रक्तकाली लगाय शक्तिपीठमा बिहानैँदेखि घुईचो लागेको छ भने उपत्यका बाहिरका बैतडीको त्रिपुरा भगवती, मेलौली भगवती, डडेल्धुराको उग्रतारा, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती, नुवाकोटको देवी भगवती लगायत शक्तिपिड भक्तजनहरुको बिहानै देखि भिड बढेको छ ।

आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।