पत्रपत्रिका

बिजुली बेचेरै देश धनी हुन्छः नेता नेपाल

रौतहट । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युत निर्यात गरेरै देश धनी हुन सक्ने बताएका छन्। जल सम्भावनामा विश्वको दोस्रो ठूलो धनी देश नेपालबाट उत्पादित हुने विद्युत बेचेर देश धनी हुने सम्भावना रहेको उनले औँल्याए।

बंगलादेशले मात्र नेपालसित ४० हजार मेगावाट विद्युत खरिद गर्न खोजेको बताउँदै देशको बिजुली उत्पादनले आन्तरिक तथा बाह्य समृद्धि ल्याउने उनको भनाई छ।

गृहजिल्ला रौतहटको गरुडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले नेपालमा वार्षिक दुई अर्ब पर्यटक भित्रिन सक्ने सम्भावना रहेको पनि बताए।

नेपालमा वर्षेनी आउने पर्यटकको संख्या अन्य पर्यटकीय देशहरुको तुलनामा कम भएकोले देशका नेताहरुले आपसी झगडा र मनोमालिन्यलाई छोडेर विकासतिर ध्यान दिए देशमा वर्षेनी दुई करोड पर्यटक ल्याउन सकिने उनको भनाई रहेको खबर आजको नागरिक दैनिकमा छ।

देशमा हिन्दूका आराध्य देव पशुपतिनाथ र जानकी मन्दिर रहेको, बौद्ध धर्मावलम्बीको लागि लुम्बिनी रहेको, पर्यटनको अपार सम्भावना रहेको तथा विश्वको दोस्रो ठूलो जलसम्भावना रहेको देशले ठूलो उपलब्धि हासिल गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए।