लुम्बिनी

वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

दाङ । पछिल्लो समय जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले जनाएको छ ।

अहिले जिल्लामा रहेका ५०४ वटा सामुदायिक वन समूहमध्येमा ६३ वटा वन समूह महिलाले मात्र सञ्चालन गरेको सामुदायिक वनका निर्वतमान सचिव हेमराज शर्माले जानकारी दिए ।

उहाँका अनुसार महिलाले सञ्चालन गरेका वन समूह यतिखेर निकै फस्टाउँदै गएका छन् । त्यसैगरी वन जोगाउने काममा पनि महिला सक्रिय भएर लागेका छन् । आफ्नो क्षमताको विकासमा पनि उनीहरु अगाडि नै छन् ।

वन समूहमा आबद्ध यहाँका महिला अन्य विभिन्न सामाजिक सङ्घ संस्थाको नेतृत्वमा समेत पुगेका छन् । जल, जमीन र जङ्गलमा मात्र महिला सहभागिता नभई निर्णायक तहमा पनि महिलाको प्रतिनिधित्व बढेको बताउछन्, सामुदायिक वन उपभोक्ता समूहका पूर्व केन्द्रीय सदस्य पदमा चौधरी ।

उनी भन्छन्, “अहिले महिलाले आयआर्जनका लागि घुम्ती कोष सञ्चालन गर्नुका साथै सहकारीदेखि प्राकृतिक स्रोत साधनको संरक्षणमा पनि सक्षम बन्दै गएका छन् ।”