प्रदेश 1

आयुर्वेद औषधालयले पायो स्वीकृति

पशुपतिनगर । मेची अञ्चल आयुर्वेद औषधालय इलामको स्तरोन्नतिका लागि प्रदेश नम्बर १ का सरकारले स्वीकृति प्रदान गरेको छ ।

बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधीसहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सो औषधालयको स्तरोन्नति गर्न प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वीकृत प्रदान गरेको हो । मन्त्रालयले सो औषधालयका लागि आवश्यक पर्ने दरबन्दी पनि थप गरिएको छ । यसका लागि चालु आर्थिक वर्षमा आवश्यक बजेटसमेत विनियोजन गरिएको मेची अञ्चल आयुर्वेद औषधालयका प्रमुख खगेन्द्र पौडेलले बताए ।

स्तरोन्नतिपश्चात् बिरामीले ओपिडी सेवासँगै फिजियोथेरापी, सत्वाङ स्वेत, पायल्स, फिस्टुला र फिसरको उपचार, प्रयोगशालाको सुविधा, छारसुत्र प्रविधिबाट उपचार सेवा प्राप्त गर्ने छन् ।

इलाम सूर्योदय नगरपालिका–११ आइतबारेस्थित नौ रोपनी क्षेत्रफलमा फैलिए उक्त औषधालयमा थप सेवा प्रदान गर्न आवश्यक पर्ने नयाँ भवन निर्माणका लागि प्रस्ताव गरिएको प्रमुख पौडेलले बताए । चालू आवमा प्रशासनिक कामका लागि भवन भाडामा लिने र अहिलेको कार्यालय रहेको भवनलाई बिरामीको उपचारका लागि प्रयोग गर्ने पनि उनले बताए ।

स्तरोन्नतिसँगै औषधालयले कार्यालय परिसरको नौ रोपनी जग्गामा जडीबुटी उद्यान स्थापना गरी आफैँ औषधि बनाउने योजना लिएको जनाएको छ । यसका साथै ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र गाउँघर क्लिनिक विस्तार गर्ने तथा विद्यालयका विद्यार्थीलाई आयुर्वेद तथा योग स्वास्थ्यका बारेमा जानकारी दिन चेतनामूलक कार्यक्रम आयोजना गर्ने औषधालयले जनाएको छ ।

पछिल्लो समय मानिसमा आयुर्वेद चिकित्साप्रति आर्कषण बढ्दै गएकाले प्रदेश सरकारले चालू आवमा प्रदेश नम्बर १ मा रहेका दुई वटा अञ्चल आयुर्वेद औषधालयलाई स्तरोन्नति गर्ने योजना स्वीकृत गरेको हो ।

मेची अञ्चल आयुर्वेद औषधालयले विभिन्न ३० भन्दा बढी प्रकारका रोगको उपचार गर्दै आएको छ । ज्येष्ठ नागरिक, सुत्केरी महिला र नशासम्बन्धी रोगको उपचार पञ्चकर्मको माध्यमबाट गर्दै आएको छ ।

आव ०७३÷७४ मा जिल्लाका चार हजार ५७२ जनाले आयुर्वेद उपचार सेवा लिएकोमा गत आवमा त्यसमा वृद्धि भई पाँच हजार २२७ पुगेको प्रमुख पौडेलले बताउनुभयो । मेची अञ्चल आयुर्वेद औषधालयका अतिरिक्त जिल्लामा अन्य चार स्थानबाट आयुर्वेदिक सेवा सञ्चालन भइरहेको छ ।