प्रदेश 2

दुर्गाका प्रतिमामा आज आँखाको नानी थपिने

जनकपुरधाम । मिथिलाञ्चलका दुर्गा मन्दिरमा आज दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ ।

मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन छ । सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन प्रतिमाको स्थापना गरिन्छ । प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । आँखा सप्तमीका दिन पूजा गरेपछि मात्र राखिन्छ ।

यो विधिका लागि षष्ठीका दिन बेल निमन्त्रण गरिन्छ, जसलाई बेलनौती भनिन्छ । यसअन्तर्गत बेलका रुखको एउटै हाँगाको फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रण गरिन्छ ।

सो विधिका लागि तय गरिएको बेलको रुखतिर बाजागाजाका साथ श्रद्धालु गीतनाद भजन गाउँदै पुग्ने गर्छन् । सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ । शिव, पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रणा दिइएको हतियारबाट एक्कै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ । पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखिन्छ र सोही बेलको डाँठबाट दुर्गाको आँखाको नानी थपिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।