प्रदेश 2

गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

पर्सा । वीरगञ्ज महानगरपालिकास्थित एतिहासिक गहवामाई मन्दिरमा आज धूमधामका साथ फूलपाती भित्र्याइयो ।

वीरगञ्जको विर्तास्थित निशानी माई भागवती मन्दिरबाट बिहान शुभ साइतमा निकालिएकोे फूलपातीलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बाजागाजासहित गहवामाई मदिरमा भित्र्याइएको हो ।

बिहान ९ बजेर ४१ मिनटको शुभसाइतमा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले विधिपूर्वक पूजाअर्चना गरी गहवामाई मन्दिरमा फूलपाती भित्र्याएको छ । सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोलीले सलामी अर्पन गरेका थिए ।

विर्ताबाट निकालिएको फूलपाती हर्न सीमावर्ती भारतीय शहर रक्सौल, छिमेकी जिल्ला बारा, रौतहट र पर्साका ग्रामीण समुदायबाट आएका श्रद्धालु भक्तजनको ठूलो भीड गहवामाई मन्दिर परिसरमा जम्मा भएको थियो ।