समाचार

महानिरीक्षक खनाल निर्देशन दिन्छन्, ‘इमान्दारी र निष्ठापूर्वक बदमाससँग भिड्नुस’

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको आज उद्घाटन गर्दै उनले भने, “कानून विपरीत कुनै पनि कार्य गर्नु हुँदैन् ।”

प्रहरी महानिरीक्षक खनालले सबैले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिदैं महिला र बालबालिकाको विषयलाई गम्भीरतापूर्वक लिएर चाँडो न्याय दिनुपर्ने आवश्यकता औल्याए ।

“इमान्दारी र निष्ठापूर्वक बदमाससँग भिड्नुपर्छ”, उनले भने, “मानवअधिकार संरक्षण गर्नेमा चुक्न हुँदैन ।”

प्रहरी महानिरीक्षक खनालले प्रहरीले इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्ने बताउँदै नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

चितवनका प्रहरी जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कम जनशक्तिमा पनि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै नवनिर्मित ब्यारेक र हिरासतले काम गर्न र बसाइमा सहजीकरण हुने बताए ।

प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले रु तीन करोड ९७ लाख ७५१ को लागतमा ब्यारेक र हिरासत निर्माण गरिएको जानकारी दिए । ब्यारेकमा १५ कोठा रहेका छन् । हिरासतमा ६ वटा कोठा छन् । २०७२ साल फागुन २८ गते सम्झौता गरी निर्माण थालिएको ब्यारेक भवन ११ हजार ३२१ वर्ग फिटमा रहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।