पर्यटन/संस्कृति

नवरात्रको छैटौँ दिन कात्यायनीको आराधना

काठमाडौँ । नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको पूजाराधना गरी मनाइएको छ । घटस्थापनाका दिन घर घरमा शुरु भएको दशैँघर वा पूजाकोठामा आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको पूजा आराधना गरिएको हो । पहिलो दिन अर्थात् असोज २४ गते घटस्थापनाका दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजाराधना गरिएको थियो ।

यही असोज ३० गते फूलपातीदेखि दशैँको विशेष चहलपहल शुरु हुन्छ । यसै दिनदेखि शक्तिपीठमा भक्तजनको अझै बढी भीड बढ्छ । नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणीलगायत शक्तिपीठमा भक्तजनको भीड बढेको हो । यसैगरी उपत्यका बाहिरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ ।

उपत्यका बाहिरका जालपामाई (देवीघाट), भैरवी, पाथीभरा, छिन्नमस्ता, पलाञ्चोक भगवती, पाल्चोकी, नाला भगवती, चण्डेश्वरी, मनकामना, शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ । नवरात्र देवीको उपासनाका लागि महत्वपूर्ण पर्व मानिन्छ । यस अवसरमा शक्तिपीठमा गई दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, बल, वुद्धि, विद्या र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ ।