पर्यटन/संस्कृति

बेलनौत विधि सम्पन्न

बर्दिवास । बडादशैंँको छैटौँ दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिएको छ । पर्वका अवसरमा दुर्गाका प्रतिमा बनाइएका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज उनको आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि गरिन्छ । मिथिला क्षेत्रमा बडादशैंँमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन खोल्न बेलको भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजाका साथ बस्ती नजीकको बेलका रुखमा चढेर एउटा फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भनिन्छ । आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न गरिएको हो ।

षष्टीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नोसहित सप्तमीका दिन टिपेर सोही फलको भेट्नोले प्रतिमाको आँखा कोट्याएर उघार्ने पुरानो मिथिला परम्परा रहेको बर्दिवास–२ का बासिन्दा कर्मकाण्डी ब्राह्मण दिनेशकुमार झा बताउँछन् । सप्तमीका दिन प्रतिमास्थलमा बेलको भेट्नोले खोस्रेर आँखा उघारिएपछि देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ ।
दशैंँका अवसरमा आज महोत्तरीमा २५ भन्दा बढी देवी प्रतिमा बनाइएका स्थलमा ‘बेलनौत’ विधि सम्पन्न गरिएको छ । ‘बेलनौत’ विधि सम्पन्न गरिएसँगै प्रतिमास्थलमा सप्तमीको तयारीका लागि चहलपहल निकै बढेको छ ।

पर्व विशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा बेलनौत विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् । पर्वविशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा तलाउमा विसर्जन गरिने परम्परा छ ।