राजनीति

समृद्धिका लागि राजनीतिभन्दा माथि उठ्छौ: शहरी विकासमन्त्री

नेपालगञ्ज, बाँके । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज शहरलगायत बाँके जिल्लालाई नै विकासको दृष्टिकोणबाट नमूना जिल्ला बनाउन मन्त्रालयबाट योजना छुट्याएको बताए ।

मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ नेपालगञ्जले यहाँ आज आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री राईले शहरी मन्त्रालयअन्तर्गत बाँकेमा भेरी अञ्चल अस्पतालको स्तरोन्नति, राष्ट्रियस्तरको पार्क र धर्मशालाको निर्माण, महिला स्नातकोत्तर कलेज स्थापना, सभा हल तथा सडक सुधार लगायतका भौतिक संरचना निर्माण गर्ने काम प्राथमिकतामा राखिएको छ भने ।

उनले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा सम्पन्न गर्न बजेटलगायतका आवश्यक सबै कुराको अभाव हुन नदिन आफू पूर्णरुपमा लागि पर्ने प्रतिबद्धता जनाए । सो अवसरमा मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएका थिए । प्रदेश सांसद सुरेन्द्र हमाल र मोहम्मद याकुव हल्वाइले प्रतियोगिताको सफलताका लागि आफूहरु लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।