विचित्र संसार

चिडिया घरले गधालाई जेब्रा बनाएपछि…

काठमाडौँ । इजिप्टको काइरो स्थित एउटा चिडियाघरमा गधालाई जेब्रा बनाएर मान्छेहरुलाई मुर्ख बनाइरहेको रहस्य खुलेको छ । गधाको जिउमा जेब्राको जस्तो कालो र सेतो पेन्ट गरि गधालाई राखेर आगन्तुकहरुलाई भ्रममा पार्न खोजिएको घटना सार्वजनिक भएको हो ।

सबैभन्दा पहिले यसबारे १८ वर्षे मोहोमद सर्हनले पत्ता लगाएका हुन् । पत्ता लगाउनका साथै उनले तस्बिरसहित यसबारे इन्टरनेटमा पोस्ट गरिदिए । अर्कोतर्फ सो चिडियाघरका प्रमुखले भने त्यो जनावर जेब्रा नै भएको र कुनै पेन्टको प्रयोग नगरिएको दाबी गरिरहेका छन् ।

चिडियाघर अवलोकन गर्न आउँदा जेब्राको जस्तो प्रिन्ट भएको अनौठो जनावर देखेर पहिले त उनी अचम्ममा परेका थिए । त्यसपछि नजिकबाट नियाल्दा मात्र उनलाई त्यो जेब्रा नभएर अरु नै जनावर भएको शंका लागेको उनले बताए । अहिले यसबारे विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् भने पशुअधिकार संघका कार्यकर्ताले यो विषयमा गम्भीर अनुसन्धानको माग गरिरहेको सीएनएनले जनाएको छ ।

मोहोमद्का अनुसार त्यसको मुखमा लगाइएको पेन्ट घाम र पसिनाका कारण मेटिएको छ भने त्यसको कानको आकार पनि जेब्राको भन्दा धेरै ठूलो देखिन्छ । उनले गरेको पोस्टमा भने उनले तस्बिरसहित लेखेका छन्, ‘यो देशमा मूर्खता यहाँसम्म पुगिसक्यो कि चिडियाखानाले स्थानीय गधालाई ल्याएर जेब्राको जस्तो पेन्ट गरि हेर्न आउने मान्छेलाई भ्रममा पारिरहेको छ ।’

तर उनको तस्बिरबाटै पनि सो जनावरको वास्तविकता प्रष्ट देखिएपछि पशु अधिकार कार्यकर्ताको समूह ‘पेटा’ का उपाध्यक्ष डेल्कियाना वीन्डर्सले भने, ‘कुनैपनि प्रतिष्ठित पशु सेवा संस्थाले गधा जस्तो संवेदनशील जनावरमाथि हानिकारक केमिकलयुक्त पेन्टको प्रयोग गरि जोखिम उठाउनु स्वभाविक कुरा होइन । त्यसैले यो मुद्दामा काएरोको चिडियाघरले गम्भीर अनुसन्धान गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’

अर्कोतर्फ चिडियाखानाका निर्देशकले भने सबै आरोप गलत रहेको ठहर गर्दै भने, ‘त्यो वास्तवमै जेब्रा हो र कुनै पेन्ट लगाइएको जनावर होइन । हामीले यहाँका सबै जनावरहरुको राम्रो ख्याल राख्ने गरेका छौँ र नियमित निरीक्षण गरिरहेका छौँ ।’ यसअघि २०१३ मा पनि एउटा चिडियाखानाले धेरै रौँ भएको कुकुरलाई सिंह बनाएर राखेको थियो जसले भुकेर सबैलाई अचम्मित पारेको थियो । –एजेन्सी