सुदूरपश्चिम

दशैँ र तिहार अवधिभर मदिरा बन्द गर्ने

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–२ र ३ ले दशैँ र तिहार अवधिभर वडामा मदिरा बन्द गरेको छ । रमाइलोका नाममा मदिरा सेवन गर्दा सामाजिक सद्भाव बिथोलिने र झै–झगडाका घटना बढ्ने हुँदा दशैँ तिहार अवधिभर मदिरा बन्द गर्ने निर्णय गरेको ३ नं वडाका अध्यक्ष खड्क अधिकारीले बताए । ती वडाले संयुक्त आयोजनामा सञ्चालन गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सो निर्णय गरिएको हो । वडा नं २ का अध्यक्ष हिरालाल थापाको अध्यक्षतामा आयोजना गरेको कार्यक्रमबाट मदिरा सेवन गर्नेलाई पाँच हजार र बिक्री गर्नेलाई दुई हजार जरिवाना लिने निर्णय गरेका छन् ।

सचेतनाका लागि प्रत्येक टोल र बस्तीमा कार्यक्रम सञ्चालन गर्ने र त्यो नमानेमा वडा कार्यालयबाटै कारवाहीका लागि प्रक्रिया थाल्ने निर्णय गरिएको छ । दुुवै वडाले असोज ३१ देखि कात्तिक ३ गतेसम्म बढी निगरानी गर्ने बताएका छन् । वडा कार्यालयका प्रतिनिनिधि, प्रहरी र युवा महिलाको संयुक्त पहलमा मदिरा बन्द गर्न लागिएको बताइएको छ । मदिरा सेवनकै कारण गाउँमा विवादका घटना बढ्न थालेपछि सबैजसो स्थानीयले मदिरा बन्द गर्ने निर्णय गरेका छन् ।

कैदीबन्दीलाई दशैँ मान्न ‘खसी’ उपहार

बाजुराको बूढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मीले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई दशैँ मान्न खसी उपहार दिए जिल्ला कारागार बाजुरा पुगेर रेग्मीले आफैँले कैदीबन्दी नाइके दिलीप शाहीलाई खसी हस्तान्तण गरे । सुधारगृहमा बन्दी जीवन बिताइरहँदा पनि नेपालीको महान् पर्वलाई भव्यरुपमा मनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले खसी उपहार दिएको रेग्मीले बताए ।

खसी उपहार दिन रेग्मी, पूर्वसभासद् वसुन्धरा रोकायासहित नेपाल कम्युनिष्ट पार्टीका नेताहरु शुभकामनासहित खसी उपहारका लागि जिल्ला कारागार परिसरमा पुगेका थिए। तीन दिनअघि मात्र नेपाल महिला सङ्घले खसी उपहार दिएको थियो ।