राजनीति

विधेयकको अभावमा काम अघि बढ्न सकेन: सचेतक ढकाल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले कानून अभावका कारण कार्यान्वयनमा जटिलता देखिएको बताए। आज रुपन्देहीको सैनामैनामा आयोजित दशैँ तथा दीपावलीको शुभकामना आदानप्रदानमा उनले कतिपय काम विधेयकको अभावमा अगाडि बढन नसकेको जानकारी दिए ।

सचेतक ढकालले चाडपर्व सकिएपछि प्रदेशसभा शुरु हुने उल्लेख गर्दै प्रदेशसभा सञ्चालन गर्न विधेयक मन्त्रिपरिषदबाट पास भएको बताए। विकास निर्माण तीव्र बनाउन सडक, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त बजेट विनियोजन भएको जानकारी दिँदै स्थानीय तहसँग मिलेर प्रदेश सरकारले काम गर्न खोजेको उनले बताए ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाका लागि कृषि, पशुपालन पहिलो प्राथमिकतामा परेको उल्लेख गर्दै रु ५० लाखको लागतमा मूर्गियामा आँखा अस्पताल सञ्चालन हुने लागेको जानकारी दिए । उनले स्मार्ट कृषि ग्राम बनाउने अवधारणा आएको र त्यसका लागि गृहकार्य भइरहेको बताए । कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीले पार्टी र निर्वाचित जनप्रतिनिधिबिीच समन्वयमा कमजोरी भएको औंल्याउँदै पार्टीले अनुगमन र मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए।