प्रदेश 1

विषादीयुक्त खाद्यवस्तु रोक्ने प्रतिबद्धता

भद्रपुर । पूर्वी नाकाबाट भित्रिने विषादीयुक्त खाद्यवस्तुको आयातमा कडाइ गर्न र त्यसको नियन्त्रणमा चार वटा निकायले प्रतिबद्धता जनाएका छन् ।

चाडपर्वको बहनामा छिमेकी मुलुक भारतका सीमा बजारबाट नेपाल भित्रिने यस्ता वस्तुले मानव जीवनमा असर पार्ने भन्दै मेचीनगर नगरपालिकाले आइतबार सम्बन्धित पक्षसँग छलफल कार्यक्रम गरी सो प्रतिबद्धता जाहेर गरेको हो । कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभिट्टा, खाद्य प्रयोगशाला काँकरभिट्टा तथा क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाबीच भएको छलफलमा सबै निकायले यस्ता वस्तुको आयातमा कडाइ गर्दै नियन्त्रणमा सक्रियतापूर्वक लाग्ने बताए ।

नगरपालिकाका प्रमुख विमल आचार्यले खुला सिमानाका पूर्वी नाका निकै संवेदनशील भएकाले यस्ता वस्तु सजिलै भित्रिने हुँदा त्यसतर्फ सम्बन्धित निकाय निकै चनाखो हुनुपर्ने बताए। भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले यस्ता वस्तुको आयात रोक्न यात्रु शाखादेखि अन्य स्थानमा समेत कर्मचारी परिचालन गरिएको जानकारी दिए ।

विषादीयुक्त खाद्यवस्तुको नियन्त्रणमा स्थानीय प्रशासन, नगरवासीलगायत सरोकार निकाय एक ढिक्का भएर लाग्नसमेत उनको आग्रह थियो । चाडपर्व नजिकिएसँगै मासु तथा मासुजन्यलगायत अन्य घरायसी वस्तुको आयातको चाप बढ्ने र धेरै अखाद्य वस्तु भित्रिने भएकाले त्यस्ता वस्तुको क्वारेन्टाइन जाँचमा उच्च सतर्कता अपनाएर उपभोक्तामाझ स्वस्थ्यकर खाद्य वस्तु उपलब्ध गराउन क्वारेन्टाइन अधिकारीहरुले चेकपोष्ट र कार्यालयबाट उच्च सतर्कतासाथ जाँच भइरहेको जानकारी दिए ।