पु.समाचार

दसैंमा खाद्यसंकटः चामल सकियो, दसैं मान्ने चामल लिन आएका सर्वसाधारण रित्तै फर्किए

जाजरकोट । जाजरकोटको बारेकोटस्थित घाट खाद्य डिपोमा प्रतिपरिवार १० केजीका दरले दिँदा पनि आइतबार नै चामल सकिएपछि खाद्यसंकट परेको छ । डिपोमा चामल सकिएपछि दसैं मान्ने चामल लिन आएका सर्वसाधारण रित्तै फर्किएका छन् ।

चार महिनादेखि खाद्य अभाव भएको बारेकोटमा दसैंलाई लक्ष्य गरी खाद्य संस्थानले एक सय २० क्विन्टल चामल केही दिनअघि पठाएको थियो । समयमा ढुवानी गर्न नसक्दा केही चामल फुलचावलीमै थन्किएको छ । मागअनुसार आपूर्ति नहुँदा अभाव भएको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए । उनले भने, ‘गाउँमा खाद्यान्न छैन । ढुवानी समस्याले निजी व्यापारीले पनि खासै चामल लिँदैनन् । केही व्यापारीले लिएको पनि खाद्य संस्थानको भन्दा दोब्बर मूल्य पर्छ । दसंैको बेला पनि पेटभरि भात खान नपाउने अवस्था छ ।’

उनका अनुसार हिउँदे र वर्षे बाली नहुँदा बारेकोटमा खाद्यसंकट परेको हो । ‘मिठोमसिनोे खाने त सपना भयो दुईछाक भात खान पनि समस्या पर्ने भयो’, स्थानीय चन्द्र खड्काले भने ।

बारेकोटवासी कसरी पेट भर्ने पिरलोमा छन् । गाउँपालिकामा असिनापानीले हिउँदे अन्नबाली उत्पादन नै नभएपछि संकट परेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

वैशाखमा परेको असिनापानीले किसानले लगाएको गहुँ र जौ बीउ नै नरहने गरी नष्ट गरिदिएपछि बारेकोटवासीले दुई महिनादेखि खाद्यसंकट झेल्दै आएका छन् । गाउँपालिकाका अधिकांश गरिबीको रेखामुनि रहेका अन्नपूर्णमा पोष्टमा खबर छ । चाडबाड आइरहेका बेला गाउँमा अन्न नभएको र डिपोमा समेत चामल सकिएपछि समस्या भएको बारेकोट–३ का मनबहादुर शाहीले बताए ।

गाउँपालिकामा भएका पसलमा समेत चामल छैन । केही पसलमा भएको चामल पनि खाद्य संस्थानको मूल्यभन्दा दोब्बर पर्छ जुन किनेर खान सक्ने स्थानीयसँग पैसा छैन ।

साविकका सक्ला, नायकवाडा, रामीडाँडा र रोकायगाउँ गाविसका करिब २० हजार बासिन्दा खाद्यको चपेटामा पर्दा पनि खाद्यसंकट टार्न बेवास्ता गरिएको बारेकोट–२ का गम्भीर नेपालीले बताए ।

सरकारले डिपोका लागि चालु आर्थिक वर्षमा दुई हजार एक सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । चामल ढुवानीका लागि टेन्डर स्वीकृति गरिसकेको भए पनि ढुवानी हुन सकेको छैन ।

सरकारले दुर्गममा खाद्य संस्थानमार्फत ढुवानी अनुदान दिएर सस्तोेमा चामल उपलब्ध गराउने गरेको छ तर डिपोमा चामल नहुँदा स्थानीय मर्कामा परेका छन् । ३० केजीको प्रतिबोरा एक हजार दुई सय पर्ने चामल निजी क्षेत्रका व्यापारी दुई हजार पाँच सय रुपैयाँसम्म बिक्री गर्छन् । दोब्बर मूल्य हालेर पनि चामल किन्न नपाइने बारेकोट–२ का मनवीरे नेपालीले बताए ।