खेलकुद

सर्बाधिक राशीको राष्ट्रियस्तरको फुटबल मङ्सिरमा

जिरी । नेकपाका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको स्मृतिमा दोलखामा सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ ।

पुनः सङ्गठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना र दोलखा जिल्ला फुटबल सङ्घको सह–आयोजनामा आगामी मङ्सिर १ देखि ७ गतेसम्म सदरमुकाम चरिकोटमा प्रतियोगिता हुने भएको हो । सदरमुकाम चरिकोटमा आईतबार पत्रकार सम्मेलन प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिताका बारेमा जानकारी दिइएको हो ।

चरिकोटस्थित टुँडिखेल मैदानमा हुने प्रतियोगितामा देशभरबाट १२ उत्कृष्ट टोली सहभागी हुने र सहभागीलाई खाना र बस्न समेतको व्यवस्था हुने आयोजक संस्थाका कार्यक्रम संयोजक मीनकुमार शिवाकोटीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले रु दुई लाख ५० हजार, द्धितीय हुनेले रु एक लाख २५ हजार र तृतीय हुने दुईवटा टोलीले रु ३०÷३० हजार नगद तथा शिल्ड, पदक र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्टाइकर, हाइस्कोर, म्याद अफ दि टुर्नामेन्टले रु १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
राष्ट्रियस्तरमा प्रकाश स्मृति कप फुटबल प्रतियोगिताको मुख्य आयोजक रिनेजम नेपाल रहेपनि प्रतियोगिताको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सह–आयोजक दोलखा जिल्ला फुटबल सङ्घ रहेको छ ।

सङ्घका जिल्ला अध्यक्ष गोविन्द श्रेष्ठले टुँडिखेल मैदानको मर्मतसम्भार तथा तार जाली लगाउने काम दशैँ लगत्तै शुरु हुने बताए । प्रकाशको २०७४ मङ्सिर ३ गते ३६ वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । तत्कालीन एकीकृत नेकपा माओवादीका नेतासमेत रहेका प्रकाशको स्मृतिमा पहिलोपटक दोलखामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।