विचार/ब्लग

प्रा.डा. दहालका ७ तर्कः नेपालमा संघीयता खारेज गर्नुपर्छ !

(१) भर्खरै सम्पन्न संविधान दिवसमा २ नं. प्रदेशमा सरकारकै सदस्यहरूवाट संविधानको घोर विरोध भयो र केही अवाञ्छनीय राष्ट्र विरोधी तत्ववाट ‘स्वतन्त्र मधेश’को घोषणा भयो। यसवाट सार्वभौमसत्ता जोखिममा परेको छ !

(२) स्थानीय निकाय र प्रदेश तथा प्रदेश–प्रदेश वीचमा सीमाना वारे द्वन्द शुरु हुनेछ।

(३) स्थानीय निकाय, प्रदेश र केन्द्र सरकारको वीचमा साधन र श्रोत (जलश्रोत, खानी, जंगल, सडक र राजस्व) लगायत राजनैतिक, आर्थिक, प्रशासनिक, न्यायिक, शान्ति–सुरक्षा लगायतका अधिकार वांडफांड वारे संघर्ष चर्कने छ।

(४) विगतमा आर्थिक अभावमा एउटा सरकार संचालन गर्न गाह्रो थियो र अहिले ७६१ सरकार चलाउन श्रोतको नितान्त अभाव भएकोले स्थानीय निकाय र प्रदेशले ऐन(कानून विपरित जनताको आय अभिवृद्धि नगरी कर र गैह्र–करको दर हदै सम्म वढाउने र केन्द्रवाट उपलब्ध श्रोत समेत घोर दुरूपयोग भएकोले भ्रष्ट्राचारले सीमा नाघेको छ। भ्रष्ट्राचारले केन्द्र देखि प्रदेश र स्थानीय निकाय सम्म व्याप्त जरा गाडेको छ।

(५) केन्द्र, प्रदेश र स्थानीय निकायका जन–प्रतिनिधीले तलवी कर्मचारीको मानसिकता वोकेकोले उनीहरू ‘द्रव्यु हात नपरे सम कुनै कार्य सम्पन्न नगर्ने व्यवहार प्रदर्शन गरेका छन्। तसर्थ, हाम्रो जस्तो सानो, गरीव, अल्पविकसित तर एकिकृत राष्ट्रमा ठूला र सम्पन्न मुलुकको नक्कल गरेर वाह्य शक्तिको दवावमा जवरजस्ती थोपरिएको संघीयता प्रतिपादन गर्नु ठूलो भूल थियो। संघीयताको मर्म स्थानीय निकायलाई सशक्तिकरण गर्नु हो (वीचमा प्रदेश सरकार गठन गरेर स्थानीय निकाय माथि द्वैध शासन थोपर्नु होइन। तसर्थ सार्वभौमसत्तालाई अक्षुण्ण कायम राख्न र शान्ति, अमन–चयन र सामाजिक सद्भाव कायम राख्दै जनताको भविष्य सुरक्षित राख्न ‘प्रदेश सरकार’ तुरून्त खारेज गर्नु पर्दछ। हाम्रो जस्तो अत्यन्त विपन्न मुलुकमा ७ वटा प्रदेश सरकारको विलाशी वोझ खर्चले धान्नै नसक्ने र सरकारको वैदेशिक ॠणवाट संघीयता टिकाउने प्रयास प्रत्युत्पादक र आत्मघाती कदम हुनेछ। राष्ट्र टाट पल्टिने छ।

(६) संसारमा चीन समेत १४८ एकात्मक राज्यहरू छन् भने ४५ संघीय राज्यहरू छन्। संघीयताको कारणले नाजेरिया, इथोपिया, सोमालिया र घानामा भएको भयावह रक्तपात तथा लाखौं मानिसको हत्त्या र सुडान दुई टुक्रामा विभाजन भएको उदाहरण प्रष्ट छ। विदेशी एजेण्टको रूपमा देश टुक्र्याउने षडयन्त्रमा संलग्न अपराधीहरू, वहुराष्ट्रको नाउंमा तराईलाई स्वतन्त्र राष्ट्रको कल्पना गर्ने क्षत्रीय दलका केही सामन्त (जमिन्दार नेताहरू र विखण्डनकारीलाई कारवाही गर्न नसक्ने दुई–तिहाइ वहुमतको हाम्रो अशक्त सरकारको कारणले नेपाल दुख–कष्टको चक्रव्युहमा फेरि फस्न लागेको छ। होश गरौ !

(७) संघीयता नेपालको निमित्त अभिशाप ! संघीयताको कारणले मुलुकमा कुनै पनि वेला विष्फोट हुने खतरा भएकोले शान्तिका अग्रदूत वुद्धको देश नेपाललाई द्वन्द, रक्तपात, हत्या, हिंसा, ‘ॠणको पासोु र विखण्डनवाट जोगाउन संघीयता खारेज गरौं ! यसको लागि संविधान शंसोधनको निमित्त दुई–तिहाइ वहुमतको हाम्रो सरकारलाई दवाव दिउं ! नेपाली भएर वांच्न नेपाल राष्ट्रलाई वचाउंन संघीयता खारेज गरौं ! जय राष्ट्र !! जय जनता !!!