अन्तर्राष्ट्रिय

प्रमुख विमान कम्पनीले दियो अहिलेसम्मकै कडा चेतावनीः सन् २०१९ देखि उडान नगर्ने

जेरूसेलम । सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने केही विमान कम्पनीद्वारा सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको इजरायली स्थानीय सञ्चारमाध्यमहरूले आइतबार जनाएका छन् ।

एल अलका प्रमुख एली दापासले इजरायली राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख र प्रधानमन्त्रीको कार्यालयका महानिर्देशकलाई जरूरी पत्र लेख्दै उक्त घोषणा गर्नुभएको इजरायली हिब्रु भाषामा प्रकाशन हुने येदिओथ आहरोनोथले उल्लेख गरेको छ ।

विश्वभर रहेका हाम्रा कार्यालयमा सुरक्षा गार्डको व्यवस्थालाई निरन्तरता दिने कुरामा विदेश मन्त्रालयले कुनै चासो नदिएपछि सबै उडानहरू अवरूद्ध गर्ने निष्कर्षमा पुगेका छौँ, दापासको पत्रमा लेखिएको छ ।

विदेश मन्त्रालयका महानिर्देशकले हालै उक्त कम्पनीलाई केही दिन पहिले एक पत्र लेख्दै मन्त्रालयले विदेशी विमानस्थलमा आगामी जनवरी १ देखि कुनै सुरक्षाकर्मीलाई नखटाउने जनाएको दापासले बताए । दापासका अनुसार सुरक्षा कामदारका लागि नयाँ सहमति नभएको भन्दै विमानस्थलमा सुरक्षा गार्ड उपलब्ध गराउन नसक्ने जनाएको थियो ।

इजरायली विमान कम्पनी एल अल, अर्किया र इसराइरद्वारा उडान भर्ने देशमा रहेका विमानस्थलमा इजरायली सुरक्षाकर्मीले सम्बन्धित मुलुकको सुरक्षा अधिकारीको सहयोगीका रूपमा काम गर्दै आएका थिए ।

विमान कम्पनीहरूले लेखेको पत्रको बोधार्थ विदेशमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा यातायात मन्त्रीलाई दिइएको छ ।

जटिल सुरक्षा प्रणालीमा गरिने कुनै पनि परिवर्तनका लागि धेरै निकायसँग विचारविमर्श गर्नु जरूरी रहेको र सरकारले झण्डै साढे दुई महिनाको समयमा उक्त निर्णय गर्न नसक्ने दापासले बताएका छन् । तर प्रधानमन्त्रीको कार्यालयले भने उक्त बिषयलाई अर्थमन्त्रालयको समन्वयपछि केही दिनमा समाधान निकाल्ने अपेक्षा गरिएको जनाएको छ । –एजेन्सीको सहयोगमा