सुदूरपश्चिम

विद्युत् उपकरण चोरी हुँदै

डोटी । उचित सुरक्षा नहुँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल नजीक रहेको समूहगाड जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री चोरी हुन थालेका छन् ।

कूलपाते नजीक समूहगाड खोलामा निर्मित दुई सय किलोवाट क्षमताको सो विद्युत्गृहमा गत २०६६ भदौमा आएको बाढीले क्षति पु¥याएपछि बेवारिसे अवस्थामा रहेकाले सामग्री चोरी भइरहेका छन् । बाढीेले विद्युत्गृहको ‘पेनस्कटक’ पाइप तथा आयोजनामा क्षति पु¥याएपछि अहिलेसम्म मर्मत नगरिँदा दिनहुँ चोरी हुन थालेको स्थानीयवासी बताउँछन् ।

साना जलविद्युत् कार्यालयका सबस्टेशन प्रमुख भरत द्वारियाले सो विद्युत्गृहमा मर्मत गरेर विद्युत् पुनःसञ्चालन गर्न केन्द्रबाट टोली आएको र खर्च बढी लाग्ने देखिएपछि केही नगरिएको बताए । सो विद्युत्गृह पुनः नचल्दा जिल्लामा अहिले दैनिक दुई घण्टा विद्युत्भार कटौती हुन थालेको छ । बाढीले क्षति पु¥याएपछि चौकीदारलाई सबस्टेशनमा सारिएको थियो ।

सबस्टेशनका प्रशासन प्रमुख बलबहादुर विकले भने, “बाढीले विद्युत्गृहमा बस्ने अवस्था नभएकाले कर्मचारी सबस्टेशनमा सारेका हौँं, विद्युत् सामग्री चोरिदैँछन् भन्ने थाहा पाएपछि सुरक्षाका लागि एक जना कर्मचारी खटाएका छौँ ।” सो विद्युत्गृहमा साना तथा काम लाग्ने कतिपय उपकरण चोरिएको उनले स्वीकार गरे । प्रमुख द्वारियाले विद्युत् उपकरण चोरी गर्नेका बारेमा जानकारी लिने काम भइरहेको बताए । सो विद्युत्गृह विसं २०३८ मा निर्माण गरिएको थियो ।